रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
shilapatra.com · Sat Jun 20 11:42:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन 'अनन्त' जाने भएका छन् ।
नेकपाले महाधिवेशनको उद्घाटन शत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो । रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई निमन्त्रणा पठाएको थियो ।
पूर्ण रूपमा स्वास्थ्यलाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् । निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए ।
त्यसयता पहिलोपटक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा उनी सहभागी भएका थिए ।
नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताए ।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३
१७:२७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)