अपार भीड र ज्ञानेन्द्रका अपार लीला !
rajdhanidaily.com · Fri Mar 14 23:10:04 GMT 2025

नेपालमा राजा भन्ने शब्द अनायासै चर्चाको चुलीमा पुगेको छ । गत २५ फागुनका दिन त्रिभुवन विमानस्थलदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको महाराजगन्जस्थित निवाससम्मको अत्यन्तै रोचक जात्रापछि त राजभक्तहरू निकै नै हौसिएका छन् । मृत्यु शैøयामा रहेको मरणासन्न व्यक्तिको श्वासप्रश्वास थोरै सुध्रेको अनुभव हुँदा पनि निकट नातेदार शुभेच्छुकहरू उत्साहित हुन्छन् भने एउटा सम्पूर्ण रूपमा परित्यक्त व्यक्तिका ’round ८–१० हजारको भीडले जयजयकार गर्दै गरेको दृश्यले परमभक्त सेवकहरू अति उत्साहित हुनु अचम्म हुँदै होइन । झन् ‘प्राणभन्दा प्यारो छ’ भन्ने नारा सुन्दा त हृदय रोमाञ्चित हुनु कुन अनौठो भयो र † हुन त मैले ८–१० हजार संख्या किट्दा तत्कालै उग्र प्रतिक्रिया आउन सक्छ । २५ फागुनको जात्रामा ज्ञानेन्द्र शाहकै शैलीमा गाडीको रुफटप खोलेर हात हल्लाउँदै नाच्दै झुम्दै हिँडेका शाहका भावी युवराज हुन् कि प्रमुख सेनापति हुन्, यकिन हुन बाँकी दुर्गा प्रसाईजीको भनाइ सुनिसकेपछि मैले उग्र प्रतिक्रियाको अपेक्षा गरेको हुँ । उनी भन्दै थिए, ‘१२–१३ हजार मानिस (उनले भने मुताविक प्रहरीको रेकर्डअनुसार) सडकमा आएका कारण गणतन्त्र आएको हो, अहिले त आठदेखि १० लाख मानिस आएका छन् ।’ अब त्यत्रा महान् व्यक्तित्वले आठदेखि १० लाख भनेर आकलन गरेका ठाउँमा मैले ८–१० हजार भनिदिँदा ममाथि भक्तजनहरूको बज्र प्रहार हुनु स्वाभाविक हो ।
नचाहँदानचाहँदै पनि संख्याको कुरा एकैक्षण गर्नैपर्ने भयो । काठमाडौंको खुलामञ्च त सबैले देख्नुभएकै छ । खुलामञ्च क्षेत्रमा पुस्तकालयको ¥याकमा किताब चाङ मिलाएर राखेको शैलीमा मानिस उभिने हो भने अर्थात् हल्लिनै नमिल्नेगरी मानिस उभिने हो भने ३२ हजारसम्म मानिस समेटिन सक्छन् । ती मानिसले जुलुसको रूप लियो भने पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार हुँदै माइतिघरसम्म पुग्छ । जुलुस हिँड्न थाल्यो भने खुकुलिन्छ र आर्कब्रिज बिजुलीबजार पुग्छ । एक बिन्दुमा उभिएर त्यस जुलुसलाई हेर्ने हो भने कम्तीमा आधा घण्टा लाग्छ । अब भन्नोस् त्यस दिन ३२ हजारको आधा मानिस थिए र ? अझ अर्को तरिकाले बुझौं । एक रोपनी जग्गा अर्थात् ५ हजार ४ सय ७६ वर्गफिट जग्गामा खचाखच मानिस उभियो भने कति अट्लान् ? बढीमा हजारभन्दा अट्लान् त ? त्रिभुवन विमानस्थलको गेट क्षेत्र र त्यसको सिधा पश्चिमतर्फको सडकको क्षेत्रफल कति होला ? के त्यो क्षेत्र सय फिट गुणा २ सय फिट अर्थात् २० हजार वर्गफिटभन्दा बढी छ र ? भैगो, २५ हजार वर्गफिट वा अझ ५ रोपनी जमिन नै मानिलिऊँ । अत्यन्तै उदारतापूर्वक गणना गर्दा त्यहाँ ५ हजार मानिस जम्मा भएका थिए । सडकको दक्षिण अर्थात् अन्तर्राष्ट्रिय आगमनतर्फ ५ हजार मानिस रहेछन् र तिलगंगातर्फ ५ हजार रहेछन् भने कति मानिस भए ? १५ हजार होइन ? वास्तविकता के हो भने झन्डै २ हजार मोटरसाइकलको लर्कोमा ४ हजार मानिस, गाडीहरूमा कोच्चिएर १ हजार मानिस र ५ हजारको हाराहारीमा पैदल मानिस जात्रामा हिँडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)