मनसुनजन्य जोखिमका कारण इलाममा रात्रीकालीन सवारी आवागमन बन्द
nagariknews.nagariknetwork.com · Sat Jun 20 11:58:38 GMT 2026

मध्य मनसुन प्रणाली सक्रिय भएसँगै जिल्ला प्रशासन कार्यालय इलाम ले जिल्लाभित्र सवारी आवागमनमा कडाइ गरेको छ।
प्रशासनले मेची राजमार्ग तथा इलाम–बेलासे (मेची करिडोर) सहित ग्रामीण सडकहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र पूर्वसूचना लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का द्वारा जारी सूचनाअनुसार वर्षायाममा सडक, पुल तथा राजमार्गमा क्षति पुग्न सक्ने र यातायात सेवा प्रभावित हुने सम्भावनालाई ध्यानमा राख्दै विभिन्न नियन्त्रणात्मक व्यवस्था लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार काठ तथा गोलिया बोकेका ओभरलोडेड भारी सवारी साधनहरूको आवागमन अर्को सूचना जारी नभएसम्म नियन्त्रित रूपमा मात्र सञ्चालन गरिनेछ। साथै खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु बोकेका सवारी साधनहरूले सडक र सवारीको क्षमता तथा अवस्थाअनुसार मात्र सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ।
जोखिम न्यूनीकरणका लागि प्रशासनले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक साना तथा ठूला सवारी साधन, मालवाहक ट्रक तथा अन्य सबै प्रकारका सवारी साधनहरूको आवागमन पूर्ण रूपमा रोक लगाएको छ।
तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने अवस्थामा स्थानीय प्रहरी प्रशासनसँग समन्वय र अनुमति लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)