राजेन्द्र पाण्डेको प्रश्न- परमाधिपति बस्ने स्थान समेत जोगाउन नसक्ने सुरक्षा निकायमाथि कसरी विश्वास गर्ने ?
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेपाली सेना लगायत मुलुकका सुरक्षा निकायहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै आलोचना गरेका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पाण्डेले देशका महत्त्वपूर्ण प्रशासनिक र संवैधानिक निकायसहित परमाधिपति (राष्ट्रपति) बस्ने स्थान समेत सुरक्षित राख्न नसक्ने सुरक्षा निकायको भरमा देश सुरक्षित छ भनेर बस्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको टिप्पणी गरे।
विगतको ‘जेन-जी’ आन्दोलनका घटनाहरू स्मरण गर्दै नेता पाण्डेले त्यस अवधिमा देशको समग्र सुरक्षा व्यवस्था पूर्ण रूपमा असफल भएको दाबी गरे। आन्दोलनकारीहरूले सिंहदरबार, सर्वोच्च अदालत र सेनाका परमाधिपति बस्ने शीतल निवास जस्ता अति संवेदनशील क्षेत्रहरूमा समेत प्रवेश गर्दा वा असुरक्षित बनाउँदा सुरक्षा निकायहरू मूकदर्शक बनेको उनको आरोप थियो।
उनले भने, “त्यस्तो सुरक्षा अङ्ग जसले हाम्रो सिंहदरबार बचाउन सकेन, जसले हाम्रो सर्वोच्च अदालत बचाउन सकेन, जसले सेनाको परमाधिपति बस्ने ठाउँ बचाउन सकेन; त्यही सुरक्षा अङ्गमाथि निर्भर रहेर हाम्रो देश बाँच्छ भनेर हामी हिँड्नुपरेको छ।”
नेता पाण्डेले जेन-जी आन्दोलन सुरु गर्ने समूहकै नियन्त्रणभन्दा बाहिर गएको र आन्दोलनकारी युवाहरू आफैँले यस कुरालाई स्वीकार गरिसकेको उल्लेख गरे। सुरुमा युवाहरूले विकृति, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध मात्र आवाज उठाए पनि पछि अर्कै शक्तिले आन्दोलन कब्जा गरेको उनको भनाइ थियो।
“त्यो विद्रोह गर्ने युवा पुस्ताले नै आन्दोलन सुरु भएको केही घण्टामै (१२ बजेबाटै) आफ्नो हातबाट ‘हाइज्याक’ भएको बताएका छन्,” पाण्डेले थपे, “हामीले आन्दोलन सुरु गर्ने बित्तिकै हाम्रो हातबाट खोसियो, तोडफोड भयो, आगलागी भयो र सरकारले मान्छे मार्ने स्थिति बन्यो भनेर उनीहरूका नेताहरूले नै भनिरहेका छन्। २३ र २४ गतेका ती घटनाहरू सम्झँदा देशको सुरक्षा स्थिति कति कमजोर थियो भन्ने छर्लङ्ग हुन्छ।”
मुलुकको वर्तमान राजनीतिक तथा सुरक्षा अवस्थालाई हेर्दा देश संकटमा रहेको उल्लेख गर्दै नेता पाण्डेले अब नेपालका कम्युनिस्टहरू एकजुट हुनुको विकल्प नभएको बताए। मुलुकको राष्ट्रियता र सार्वभौमिकता जोगाउनका लागि छरिएर रहेका कम्युनिस्ट शक्तिहरू सङ्गठित र एकताबद्ध हुनु अपरिहार्य रहेको उनको दाबी थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)