विश्वकप फुटबल : ब्राजिलले खेल त जित्यो, तर ‘रियल ब्राजिल’ अझै देखिन बाँकी
nepalpress.com · Sat Jun 20 12:21:00 GMT 2026

काठमाडौँ । विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। तर सहज जित हात पारे पनि प्रशिक्षक कार्लो एन्सेलोटीको टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेका छन्।
फिलाडेल्फियास्थित रङ्गशालामा ब्राजिलको गौरवशाली इतिहासको झल्को देखिएको थियो। सन् २००२ मा विश्वकप जितेको टोलीका सदस्य रोनाल्डिन्हो दर्शकदीर्घामा उपस्थित थिए भने समर्थकहरूले विश्वकप ट्रफीका डमी हल्लाउँदै टोलीलाई उत्साह प्रदान गरेका थिए ।
ब्राजिलको जितमा माथ्युस कुन्हाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक सुन्दर गोल थपे । तीनै गोल पहिलो हाफमै भएका थिए। यससँगै ब्राजिलले प्रतियोगितामा पहिलो जित र पहिलो ‘क्लिन सिट’ निकाल्यो ।
तर खेलको दोस्रो हाफले भने चिन्ता बढाएको छ । फिफा वरीयतामा ब्राजिलभन्दा ८० स्थानभन्दा तल रहेको हाइटीविरुद्ध ब्राजिलले दोस्रो हाफमा लक्ष्यतर्फ एउटा पनि प्रहार गर्न सकेन । उल्टै हाइटीले दोस्रो हाफमा सात प्रहार गर्दा ब्राजिलका नाममा केवल दुई प्रयास मात्रै रहे ।
यो हारसँगै हाइटी विश्वकप २०२६ बाट बाहिरिने पहिलो टोली बनेको छ ।
एन्सेलोटी सन्तुष्ट
प्रतियोगिताको पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिल अहिले दुई खेलबाट चार अङ्कसहित नकआउट चरण नजिक पुगेको छ। यद्यपि टोलीको प्रदर्शनबारे उठेका प्रश्नप्रति प्रशिक्षक एन्सेलोटी सकारात्मक देखिए।
खेलपछि उनले भने, ‘पहिलो हाफमा हामी धेरै राम्रो थियौँ । दोस्रो हाफमा उनीहरूले केही नियन्त्रण बढाए, तर हामीसँग थप गोल गर्ने अवसर पनि थिए। समग्रमा यो राम्रो खेल थियो ।’
कुन्हालाई के आगामी खेलमा पनि मुख्य अट्याकमा खेलाइने हो भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । ‘हेरौँला। रक्षापङ्क्तिलाई समस्या सिर्जना गर्न कुन्हाको भूमिका प्रभावकारी रह्यो। उनले पास वितरण पनि राम्रो गरे। यो एउटा विकल्प हुन सक्छ’, उनले भने।
स्कटल्यान्डविरुद्ध नेयमार उपलब्ध हुने
३४ वर्षिय नेयमारलाई टोलीमा समावेश गर्दा धेरैले आश्चर्य व्यक्त गरेका थिए । ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले अक्टोबर २०२३ यता राष्ट्रिय टोलीका लागि खेल्न सकेका छैनन् ।
पिँडुलाको समस्याका कारण उनी हाइटीविरुद्धको खेल खेल्न त परै जाओस्, फिलाडेल्फिया नै पुगेका थिएनन्। तर एन्सेलोटीले स्कटल्यान्डविरुद्धको खेलका लागि उनी उपलब्ध हुने जानकारी दिएका छन् ।
‘नेयमारले आइतबार व्यक्तिगत प्रशिक्षण गर्नेछन् र सोमबार टोलीसँग अभ्यासमा सहभागी हुनेछन्। उनी स्कटल्यान्डविरुद्ध उपलब्ध हुनेछन्’, एन्सेलोटीले बताए।
युरोपेली फुटबल विश्लेषक जेम्स होर्नक्यासल नेयमारजस्ता खेलाडीलाई मैदानमा नियन्त्रण गर्न कठिन हुन्छ, किनभने उनको खेलशैलीले विपक्षीलाई ट्याकल गर्न आकर्षित गर्ने बताउँछन्। एन्सेलोटीले स्टार खेलाडीहरूलाई एकजुट बनाएर उत्कृष्ट टोली निर्माण गर्न सक्ने क्षमता राख्ने उनले बताए।
यद्यपि फ्रान्सेली फुटबल विश्लेषक जुलियन लोरेन्स भने नेयमार विश्वकप टोलीमा हुन योग्य नरहेको मान्छन्। हालै क्लब सान्तोसका युवा खेलाडी रोबिन्हो जुनियरलाई प्रशिक्षणका क्रममा थप्पड हानेपछि नेयमारले सार्वजनिक रूपमा माफी मागेका थिए।
राफिन्हाको चोटले चिन्ता
ब्राजिलका लागि अर्को चिन्ताको विषय राफिन्हाको चोट बनेको छ। विश्वकप छनोट चरणमा पाँच गोल गरेका राफिन्हा खेलको ४०औँ मिनेटमा चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएका थिए।
“उनको अवस्थाबारे थप जानकारी भोलि प्राप्त हुनेछ,” एन्सेलोटीले बताए ।
एन्ड्रिकको विश्वकप डेब्यु
ब्राजिलका समर्थकका लागि सकारात्मक पक्ष भने युवा फरवार्ड एन्ड्रिकको विश्वकप डेब्यु रह्यो । १९ वर्षिय एन्ड्रिक ६४औँ मिनेटमा कुन्हाको स्थानमा मैदान प्रवेश गर्दा दर्शकले उभिएर स्वागत गरेका थिए।
यससँगै उनी विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गर्ने सातौँ सबैभन्दा कम उमेरका खेलाडी बने। यद्यपि उनको एक गोल अफसाइडका कारण रद्द भयो। उनले मैदानमा केवल आठ पटक बल छोए भने दुई पास मात्रै पूरा गर्न सके।
हाइटीविरुद्धको खेल ब्राजिलले विश्वकप इतिहासमा तीन वा सोभन्दा बढी गोल गरेको ४१औँ खेल थियो, जुन कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो।
यससँगै ब्राजिलले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने राष्ट्रको कीर्तिमान पनि आफ्नो नाममा पारेको छ। ब्राजिलका नाममा अब कुल २४१ गोल पुगेका छन्, जबकि जर्मनीका २३९ गोल छन्।
जितसँगै ब्राजिलले अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ। तर अर्जेन्टिना र फ्रान्सले जस्तै प्रभावशाली प्रदर्शन गर्न नसक्दा ‘रियल ब्राजिल’ अझै मैदानमा देखिन बाँकी रहेको टिप्पणी हुन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट