मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटो जात्रा सम्पन्न

himalpress.com · Sat Jun 20 12:32:43 GMT 2026

काठमाडौँ – वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ।

शनिबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्रनाथको रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हो।

भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेका थिए। सोही अवसरमा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरेका थिए। समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री वालेन्द्र शाहलगायतको पनि उपस्थिति रहेको थियो।

मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पु¥याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो।

मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ।

भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पु¥याइन्छ।

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)