मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जावलाखेलमा देखाइयो भोटो [तस्बिरमा]

nepalnews.com · Sat Jun 20 13:01:16 GMT 2026

ललितपुर। वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ।

जावलाखेलमा शनिबार विशेष समारोहबीच मत्स्येन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्रनाथको रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ।

भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मत्स्येन्द्रनाथको भोटो अवलोकन गरे। सोही अवसरमा राष्ट्रपति पौडेलले मत्स्येन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरे। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाहलगायतको पनि उपस्थिति थियो।

मत्स्येन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो।

मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ।

भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुंमतीको मत्स्येन्द्रबहाल पुर्‍याइन्छ।

मत्स्येन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहिआएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)