एक खेल अगावै विश्वकपबाट कसरी बाहिरिए हैटी र टर्की ?
shilapatra.com · Sat Jun 20 13:07:00 GMT 2026

फिफा विश्वकपबाट सबैभन्दा पहिले बाहिरिनेमा हैटी र टर्की परेका छन् । समूह 'सी'बाट हैटी र समूह 'डी'बाट टर्की एक खेल बाँकी हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । जबकि यसपटकको फर्म्याट अनुसार तीन अंक मात्रै जोड्ने टिम पनि नकआउट चरणको अन्तिम ३२ मा जान सक्नेछन् । त्यो तीन अंकको सम्भावना हैटी र टर्की दुवैको छ । तर, दुवैले लगातार दुई खेल हारेपछि अन्तिम खेल नखेल्दै दुवै विश्वकपबाट बाहिरिएका हुन् ।
समूह 'सी'मा हैटी पहिलो खेलमा स्कटल्यान्डसँग १–० गाेलले हारेको थियो । दोस्रो खेलमा ब्राजिलसँग ३–० ले हार्न पुग्यो । लगातार दुई हारपछि हैटीले अंक प्राप्त गरेको छैन । अन्तिम खेल हैटीको मोरक्कोसँग छ । मोरक्कोको ४ अंक भइसकेको छ । ब्राजिलको पनि चार अंक नै छ । यसैले मोरक्कोलाई जिते पनि हैटीले अब पाउने भनेको तीन अंक मात्रै हो ।
अर्कोतिर स्कटल्यान्डको पनि तीन अंक नै छ । यसैले अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डलाई हराउँदा आफ्नो खेल जिते पनि हैटी अर्को चरणमा जाँदैन । किनकि स्कटल्यान्डसँग हारेकोले हेड टू हेडका कारण तीन अंक मात्रै हुने भएपछि हैटी अन्तिम खेल अघि नै बाहिरिएको हो । अर्थात अन्तिम खेलबाट तीन अंक पाए पनि हैटी नकाउट चरणमा नजाने पक्का भएको हो ।
टर्कीको पनि उस्तै हालत
शनिबार बिहान पाराग्वेसँग पराजित भएपछि टर्कीको पनि हालत हैटीको जस्तै भएको छ । एक खेल खेल्न बाँकी हुँदा नै टर्की पनि नकआउट चरणमा पुग्ने सम्भावनाबाट बाहिर परेको हो । पहिलो खेलमा टर्की अस्ट्रेलियासँग २–० ले हारेको थियो । दोस्रो खेलमा पाराग्वेसँग १–० ले हार्न पुग्यो । यो समूहबाट आयोजक अमेरिका पाराग्वे र अस्ट्रेलियालाई हराउँदै ६ अंकको साथ पहिलो स्थानमा छ ।
अस्ट्रेलिया र पारग्वे तीन तीन अंकका साथ छन् । अन्तिम खेलमा टर्कीले अमेरिकालाई हराएर तीन अंक जोडे पनि हेड टू हेडमा पछि पर्नेछ । किनकि अन्तिम खेलमा अमेरिकालाई हराए पनि टर्कीले पाराग्वे वा अस्ट्रेलियामध्ये एउटासँग तीन तीन अंकको बराबरी मात्रै गर्ने हो । तर, यी दुवैसँग हारिसकेको र अमेरिकालाई अंक तालिकामा उछिन्न नसक्ने भएपछि टर्की एक खेल अगावै बाहिरिएको हो ।
सामान्यतया: अन्तिम खेलले मात्रै निर्धारण गर्ने जस्तो लागे पनि हेड टू हेडको समीकरणले यी दुवै टोली बाहिरिएका हुन् । हैटीलाई त्यत्ति बलियो नमाने पनि यसपटक टर्कीलाई अर्को चरणमा जाने टोलीको रूपमा लिइएको थियो । ६६३ पास खेलेर ७८ प्रतिशत बल पोसेसन राख्दा र पाराग्वे दोस्रो हाफमा १० खेलाडीमा खेले पनि टर्कीले खेल जित्न नसकेको हो ।
खेल सुरु भएको ६४ सेकेण्डमै खाएको गोलले टर्कीलाई अन्ततः डुबायो । पाराग्वेको सम्भावना बाँकी देखायो । टर्कीका ३३ वटा सट प्रहार र ६ वटा अन टार्गेट थिए । अन्तिमसम्म गोल फर्काउन प्रयास पनि गरेको थियो । तर, सधैँझै पाराग्वले बलियो रक्षापंक्तिको नमुना देखायो ।
टर्कीले अस्ट्रेलियासँग पनि उस्तै राम्रो पोसेसन राखेर खेलेको थियो । तर, दुई शून्यले हार्न पुग्यो । ६३ प्रतिशत बल पोसेसन राख्दा टर्कीले २८ वटा सट प्रहार गरेको थियो । सात सट अन टार्गेट थिए । तर, स्पष्ट गोल अन्तरले पराजित भएपछि राम्रो प्रदर्शन मात्रै टर्कीलाई काम लागेन ।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३
१८:५२
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)