मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नरैनापुर गाउँपालिकाद्वारा ४९ करोड बढीको बजेट सर्वसम्मत पारित

gorkhapatraonline.com · Sat Jun 20 13:36:28 GMT 2026

बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । यो बजेट स्वीकृत गरेसँगै नरैनापुर बाँके जिल्लामै सबैभन्दा पहिले बजेट ल्याउने स्थानीय तह बनेको छ ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा सम्पन्न गाउँसभाको २०औँ अधिवेशनले आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गर्दै आगामी वर्षको विकास तथा सेवा प्रवाहको मार्गचित्र तय गरेको हो । गाउँसभामा अध्यक्ष शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले ४९ करोड दुई लाख ८३ हजार रुपियाँ बराबरको बजेट पेस गर्नुभएको थियो ।

छलफलपश्चात् गाउँसभाले नीति, कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा अनुमोदन गरेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले विशेष गरी दलित, मुस्लिम, मधेसी, थारू लगायतका समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक सशक्तीकरणका लागि लक्षित कार्यक्रम समेटेको जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष श्रीवास्तवले सीमित स्रोतसाधनका बिच पनि नागरिकको जीवनस्तर उकास्ने, आधारभूत सेवामा पहुँच विस्तार गर्ने तथा समावेशी विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ बजेट तथा कार्यक्रम निर्माण गरिएको बताउनुभयो । उहाँले आगामी वर्ष विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँसभामा वडा नं. १ का अध्यक्ष इसाक जोलाहा, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य तथा वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य लगायतले नीति तथा बजेटमाथि आफ्नो धारणा राख्दै समयमै बजेट ल्याउनु सकारात्मक कदम भएको बताउनुभएको थियो । उहाँहरूले पारित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएसँगै गाउँसभाको २०औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले पारित नीति तथा कार्यक्रमलाई परिणाममुखी ढङ्गले कार्यान्वयन गर्न सम्पूर्ण कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताउनुभयो ।

स्थानीय तहहरूले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाबिच नरैनापुरले समयभन्दा अगावै बजेट पारित गरेर उदाहरणीय अभ्यास प्रस्तुत गरेको स्थानीयको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय