मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख छानबिनमा : चराचुरुंगी, चरीबाघमा पुष्टि

baahrakhari.com · Sat Jun 20 13:32:00 GMT 2026

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु (एच फाइभ एन वान)को संक्रमण पुष्टि भएको विषय लुकाएको आरोपमा त्यहाँका प्रमुख सत्यनारायण साहमाथि छानबिन थालिएको छ । संक्रमणबारे राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा तानिएका हुन् ।

कोषको अध्यक्ष समेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाइएको छ । कोषले चिडियाखानामा बर्डफ्लु फैलनुको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो ।

समिति सदस्यमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा. मधु क्षेत्री सदस्य छन् । समितिलाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । योसँगै चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ ।

पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको थियो । चिडियाखानामा करिब १० दिनअघिदेखि पन्छी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी गराएका थिएनन् ।

चराचुरुंगी मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गीद्ध तथा जनावरतर्फ निरबिरालो र चरीबाघमा समेत बर्डफ्लु देखिएको थियो ।

#जावलाखेल

#बर्डफ्लु

#राष्ट्रिय प्रकृति संरक्षण कोष

#सदर चिडियाखाना

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय