फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा ट्युनिसिया र जापान भिड्दै
onlinekhabar.com · Sat Jun 20 14:17:30 GMT 2026

५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियममा ट्युनिसिया र जापान आमनेसामने हुँदैछन्, जुन खेल फुटबल इतिहासकै एउटा सुनौलो र ऐतिहासिक क्षण बन्नेछ ।
यो खेल फिफा विश्वकप इतिहासकै १०००औं खेल हो, जसका कारण विश्वभरका फुटबल प्रेमीहरूको नजर यस ऐतिहासिक भिडन्तमा केन्द्रित भएको छ ।
सन् १९३० मा सुरु भएको फिफा विश्वकप ९६औं वर्षमा आइपुग्दा १००० खेलको कोशेढुङ्गा पनि पार हुने क्रममा छ । आइतबार बिहान ९:४५ बजे हुने उक्त खेलपछि फिफा विश्वकपमा ऐतिहासिक १००० खेल पूरा हुनेछ ।
आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेल्दै १ अंक जोडेको जापान आज स्पष्ट जितका साथ नकआउट चरणतर्फ पाइला बढाउन चाहन्छ ।
अर्कोतर्फ, पहिलो खेलमा स्विडेनसँग ५–१ को ठुलो हार बेहोरेको ट्युनिसिया यस ऐतिहासिक खेलमार्फत प्रतियोगितामा बलियो पुनरागमन गर्ने दाउमा छ ।
हेड-टु-हेड र पछिल्लो लय
यी दुई देशबीच फुटबल इतिहासमा यसअघि ६ पटक भेट भइसकेको छ, जसमा जापान स्पष्ट रूपमा हाबी देखिन्छ । जापानले ट्युनिसियाविरुद्धका ६ मध्ये ५ खेलमा जित निकालेको छ भने ट्युनिसियाले केवल १ खेल मात्र आफ्नो पक्षमा पार्न सकेको छ ।