ट्रम्प र मेलोनीबीच वाकयुद्ध: 'आफ्नो लोकप्रियतामा ध्यान दिनुस्' भन्दै मेलोनीको फर्काइन् जवाफ
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीचको सम्बन्धमा दरार आएको छ।
ट्रम्पले मेलोनी इटालीमा अलोकप्रिय बन्दै गएको र उनले आफूसँग फोटो खिचाउन 'धेरै पटक बिन्ती' गरेको दाबी गरेपछि विवाद चर्किएको हो।
ट्रम्पको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै मेलोनीले इन्स्टाग्राममार्फत जवाफ दिएकी छिन्। उनले भनेकी छिन्, "मेरो लोकप्रियता तपाईँको चासोको विषय होइन, बरु तपाईँ आफ्नै लोकप्रियतामा ध्यान दिनुस्।" उनले ट्रम्पको मित्रताले आफ्नो लोकप्रियता बढाउन कुनै मद्दत नगरेको भन्दै ट्रम्पका 'बिना आधारका आक्रमणहरू' अर्थहीन रहेको बताएकी छिन्।
ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्ने अमेरिकी प्रयासमा इटालीले सहयोग नगरेको र अमेरिकी सैन्य विमानलाई इटालीको हवाई अड्डा प्रयोग गर्न रोक लगाएको आरोप समेत लगाएका छन्।
मेलोनीले भने हवाई अड्डाको प्रयोग सम्झौताका आधारमा हुने र आफू प्रधानमन्त्री रहुन्जेल त्यसको उल्लंघन नहुने स्पष्ट पारेकी छिन्।
यस विवादका कारण दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको छ। इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले अर्को हप्ता हुने भनिएको आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्।
सन् २०२५ जनवरीमा ट्रम्पको शपथ ग्रहणमा सहभागी हुने एक मात्र युरोपेली नेता मेलोनी र ट्रम्पबीचको यो विवादलाई अन्तर्राष्ट्रिय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)