रास्वपाको नयाँ संरचना : १५८ सदस्यीय केन्द्रीय समिति, १९ पदाधिकारी र समावेशी प्रतिनिधित्वको नयाँ मोडेल
nagariknews.nagariknetwork.com · Sat Jun 20 16:18:45 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संशोधित विधानमार्फत आफ्नो केन्द्रीय समिति १५८ सदस्यीय बनाउने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित विधानअनुसार १५१ जना महाधिवेशनबाट चयन हुनेछन् भने सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
विधान संशोधन उपसमितिका सदस्य तथा रास्वपा नेता गणेश पराजुलीका अनुसार संशोधित संरचनाअनुसार भोलिदेखि चितवनमा सुरु हुने महाधिवेशनले १९ पदाधिकारीसहित नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ।
नयाँ संरचनाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (जसमध्ये कम्तीमा एक जना महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (कम्तीमा एक जना महिला अनिवार्य), एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता तथा तीन सहप्रवक्ताको व्यवस्था गरिएको छ। यसरी पदाधिकारीको कुल संख्या १९ पुगेको छ।
संशोधित विधानले सात प्रदेशका सभापतिलाई स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ। त्यस्तै, १५१ सदस्यीय महाधिवेशनबाट चयन हुने संरचनामध्ये ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ। बाँकी १०० सदस्यमध्ये एक जना सभापति स्वयं रहनेछन् भने ९९ जना निर्वाचन प्रक्रियाबाट चयन हुनेछन्।
निर्वाचनमार्फत चयन हुने ९९ जनामध्ये ३५ जना सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले निर्वाचित हुनेछन्। प्रदेश क्लस्टरबाट निर्वाचित हुने प्रत्येक पाँच जनामध्ये कम्तीमा दुई जना महिला अनिवार्य रहने व्यवस्था गरिएको छ। बाँकी स्थानमा जनसंख्याका आधारमा जनजाति, मधेसी, थारूलगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, बाँकी ६४ जनामध्ये ३२ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्, जहाँ महिला, पुरुष तथा अन्य सबै समूहले प्रतिस्पर्धा गर्न सक्नेछन्। अर्को ३२ सदस्य भने समावेशिताको सिद्धान्तअनुसार निर्वाचित गरिने व्यवस्था गरिएको छ।
रास्वपाले केन्द्रीय तहसँगै प्रदेश, जिल्ला र पालिका तहको संगठनात्मक संरचनामा पनि परिवर्तन गरेको छ। संशोधित विधानअनुसार अब ती तहमा दुई उपसभापतिको व्यवस्था हुनेछ, जसमा कम्तीमा एक जना महिला अनिवार्य रहने प्रावधान राखिएको छ। पार्टीले यस व्यवस्थालाई समावेशिताको अभ्यासलाई व्यवहारमा लागू गर्ने कदमका रूपमा प्रस्तुत गरेको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)