सेयर बजारकाे गिरावट : अर्थमन्त्री भन्छन् अनियमितताकाे छानबिनले बजार घट्याे, मुख्य समस्या नीतिगत - लगानीकर्ता
arthasansar.com

पछिल्लो समय सेयर बजार निकै संकुचनको अवस्थामा रहेको छ । स्थिर सरकार बनेपछि चमक देखिनु पर्ने सेयर बजार त्यसको उल्टो गतिमा देखिनु आफैमा अनौटो विषय हो । सबैको आशा विपरित सेयर बजारले गति लिन नसक्दा आम लगानीकर्ताहरु प्यानिक अवस्थामा रहेका छन् । लगानीकर्ताले बजार घट्नुमा सरकारले गर्नु पर्ने नीतिगत कामहरु नगर्नु मुख्य कारण भएको बताइरहेका छन् । तर, शुक्रबार संसदमा बोल्ने क्रममा अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले १ खर्ब भन्दा बढीको बिगोका मुघा अघि बढेकाले बजार घटेको बताए । उनले पछिल्लो समय अनुसन्धान तथा कानुनी कारबाहीको प्रभावले गर्दा पुँजी बजार घटेको जानकारी दिए ।
सेयर बजारको दीर्घकालीन स्थायित्व सरकारको प्राथमिकता रहेको बताएका मन्त्री वाग्लेले अहिले बजार घट्नुको कारण मनोवैज्ञानिक त्रास मात्रै भएको बताए । ‘१ खर्ब रुपैयाँ भन्दा बढी बिगो दाबीसहित विभिन्न मुद्दा अघि बढिरहेका छन् । यसको केन्द्रमा पुँजी बजार तथा बीमा क्षेत्र रहेको छ । यहि मुद्दाका कारण केही लगानीकर्तामा ‘म पनि अनुसन्धानमा पर्छु कि’ भन्ने मनोवैज्ञानिक त्रास सिर्जना गरेको छ,’ उनले भने, ‘सरकार एक–एक घण्टाको बजार उतारचढाव हेरेर नीति बनाउँदैन । हामी दीर्घकालीन रूपमा बजारलाई पारदर्शी र स्थिर बनाउन काम गरिरहेका छौँ ।’
अर्थमन्त्रीले छानबिन र मुद्दाका कारणले बजार घटेको बताए पनि लगानीकर्ताहरु भने सरकारले पुँजी बजारका लागि आवश्यक पर्ने नीति बनाउन नसक्दा पुँजी बजार प्यानिक अवस्थामा पुगेको बताउँछन् । नेपाल सेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेले छानबिन भन्दा पनि सरकारले लगानीका लागि सकारात्मक वातावरण बनाउन नसक्दा बजार घटेको बताए । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि पनि लगानी आवश्यक रहेकाले लगानी प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने उनको भनाइ छ । अहिले सरकारको बोलि र व्यवहार फरक परेको उनी बताउँछन् । ‘चुनाव अघि १०० दिनमा काम गछौँ भनेर भन्ने कुराले अविश्वास बढाएको छ,’ उनले भने । नेपालको पुँजी बजार सिमिति व्यक्तिहरुले चलाएकाले पनि अहिले उनीहरुले सहयोग नगर्दा पनि बजारले गति लिन नसकेको उनको भनाइ छ ।
नीजि क्षेत्र त्रसित भए पनि गलत नगरेका लगानीकर्ताहरु वा अरु कोही पनि डराउनु पर्ने अवस्था नरहेको सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेलको भनाइ छ । बजारबाट हुने आम्दानी पारदर्शी हुने भएकाले लगानीकर्ताहरु छानबिनले डराउनु पर्ने कारण नभएको उनले बताए । अहिले बजार सरकारको नीतिका कारणले घटेको उनको भनाइ छ । ‘व्यवसायी माथिको धरपकडले लगानीकर्ताहरु निशास भएको भए पनि डराउनु पर्ने अवस्था छैन,’ उनले भने । अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजारका लागि सरकारले नीतिमा सुधार गर्नु पर्ने उनको सुझाब छ ।
सरकारले छानबिन गर्ने कुरा नियमित भएको र बजार घट्नुमा सरकारले लिएको नीति जिम्मेवार रहेको लगानीकर्ता तिलक कोइरालाको भनाइ छ । उनले अहिलेको सरकारले पुँजी बजारका लागि गर्नु पर्ने कुनै काम नगरेकाले बजार घटेको उनी बताउँछन् । सेयर बजारका लागि सुधार गर्नु पर्ने कामको लिस्ट दिएको भए पनि सरकारले खासै काम नगरेकाले बजार घटेको उनको कोइरालाको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)