कर्णालीमा बढ्दो सडक दुर्घटना : तीव्र गति, कमजोर पूर्वाधार र व्यवस्थापनको चुनौती
nagariknews.nagariknetwork.com · Sat Jun 20 16:22:55 GMT 2026

कर्णाली प्रदेशमा सडक दुर्घटनाले निरन्तर मानवीय क्षति निम्त्याइरहेको छ। पछिल्ला वर्षका तथ्यांक र जिल्लागत घटनाक्रमले सडक सुरक्षा अझै प्रदेशको गम्भीर चुनौतीका रूपमा रहेको संकेत गरेका छन्। सडक विस्तार र सवारीसाधनको संख्या बढ्दै गए पनि सुरक्षा व्यवस्थापन, पूर्वाधार र चालक अनुशासनमा अपेक्षित सुधार नदेखिँदा दुर्घटनाको जोखिम बढ्दो अवस्थामा छ।
जुम्लासहित कर्णालीका विभिन्न जिल्लामा भएका दुर्घटनाले सडक अवस्था, सवारी सञ्चालन प्रणाली र चालक व्यवहारसँग जोडिएका समस्या सतहमा ल्याएका छन्। २०८१ जेठ २७ गते जुम्लाको पातारासी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा १९ वर्षीय मीनबहादुर बुढाको मृत्यु भएको थियो। क १ प २०७७ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी ज्यान गुमाएका थिए।
त्यसैगरी, २०८२ चैत १७ गते जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा भे २ त १७७२ नम्बरको ट्याक्टर करिब एक सय मिटर तल खस्दा स्थानीय ५१ वर्षीय तिल रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको थियो।
यस्तै, २०८२ चैत ३ गते मुड्केचुला गाउँपालिका–३ को काङ्ग्रे खोलामा बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक सल्मान रोकाया घटनास्थलमै मृत फेला परेका थिए। उनी २३ वर्षका थिए।
पछिल्लो घटनाका रूपमा २०८३ असार २ गते तातोपानी गाउँपालिका–३ लाछुगाउँ नजिक भे १ ट ८९३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तिला गाउँपालिका–४ का ३५ वर्षीय खर्बेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको थियो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार कर्णालीमा हुने कुल सवारी दुर्घटनामध्ये करिब ६५ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेका छन्। त्यसबाहेक ब्रेक फेल, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति, चालक अनुमतिपत्रबिना सवारी सञ्चालन, कमजोर सडक अवस्था तथा जोखिमपूर्ण ओभरटेक दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्।
वर्षेनि बढ्दो दुर्घटनाको तथ्यांक
आर्थिक वर्ष २०७९/०८० मा कर्णालीमा ५ सय ४९ सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा १ सय ३१ जनाको मृत्यु भएको थियो भने ३ सय ३८ जना गम्भीर घाइते भएका थिए।
आर्थिक वर्ष २०८०/०८१ मा दुर्घटनाको संख्या दोब्बरजस्तै बढेर १ हजार ८६ पुगेको थियो। यद्यपि मृत्यु संख्या १ सय १२ मा सीमित रह्यो भने ४ सय ७२ जना गम्भीर घाइते भएका थिए।
आर्थिक वर्ष २०८१/०८२ मा ९ सय ६८ दुर्घटनामा १ सय ३९ जनाले ज्यान गुमाए भने ७ सय २ जना गम्भीर घाइते भए।
चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म मात्र प्रदेशभर १ हजार १ सय १५ सवारी दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा १ सय २३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ६५ जना घाइते भएका छन्।
सुर्खेत सबैभन्दा बढी प्रभावित
कर्णाली प्रदेशका १० जिल्लामध्ये कुल दुर्घटनाको ५८ प्रतिशत हिस्सा सुर्खेतमा रहेको तथ्यांकले देखाएको छ। मृत्यु दरको हिसाबले पनि सुर्खेत अग्रस्थानमा छ।
दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा बढी अर्थात् ४७ प्रतिशत रहेको छ। त्यसपछि जिप–कार, अटो–टेम्पो, ट्र्याक्टर, माइक्रोबस, बस र ट्रक क्रमशः रहेका छन्।
समयगत विश्लेषणले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म दुर्घटना बढी हुने देखाएको छ। चालक उमेर समूहमा २६ देखि ४० वर्षका चालक सबैभन्दा बढी दुर्घटनामा संलग्न छन् भने १७ देखि २५ वर्ष समूह दोस्रो स्थानमा रहेको छ।
सीमित जनशक्ति, बढ्दो जिम्मेवारी
हाल कर्णाली प्रदेशमा ४१ हजार ३ सय ८२ सवारीसाधन दर्ता छन्। करिब ९ हजार ७ सय १५ किलोमिटर सडक सञ्जालको व्यवस्थापनका लागि जम्मा २ सय २० ट्राफिक प्रहरी परिचालन गरिएका छन्। यसअनुसार एक ट्राफिक प्रहरीले औसत ४५ किलोमिटर सडकको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था रहेको छ।
सडक डिभिजन सुर्खेतका प्रमुख विवशबाबु सदादेवका अनुसार सडक सुरक्षालाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि बजेट उल्लेख्य रूपमा बढाइएको छ। चालु वर्षको एक करोड रुपैयाँबाट बढाएर आगामी वर्ष आठ करोड रुपैयाँ विनियोजन गरिएको छ।
उक्त बजेटबाट दुर्घटना जोखिमयुक्त क्षेत्रमा क्र्यास ब्यारियर, रोड मार्किङ, ट्राफिक लाइट, राउन्डअबाउट लगायत सुरक्षा संरचना निर्माण गरिनेछ। साथै कर्णाली राजमार्ग स्तरोन्नति, हर्रे–बाङ्गेसिमल तथा छिन्चु–जाजरकोट सडकखण्डमा सुरक्षात्मक पूर्वाधार निर्माण र वीरेन्द्रनगर चारलेन सडकमा ट्राफिक लाइट सञ्चालनलाई प्राथमिकता दिइएको छ।
यता चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६ हजार ८ सय २५ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ४ लाख ४५ हजार ६ सय ८३ जना लाभान्वित भएका छन्।
सडक विस्तारसँगै सुरक्षामा समानान्तर लगानी, प्रभावकारी ट्राफिक व्यवस्थापन, चालक अनुशासन र जनचेतनालाई प्राथमिकता दिन नसकिए कर्णालीमा सडक दुर्घटनाबाट हुने मानवीय क्षतिको श्रृंखला अझ गम्भीर बन्ने जोखिम देखिन्छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)