भारत : शिक्षामन्त्रीको राजीनामा माग्दै ‘ककरोच जनता पार्टी’ को विरोध रातमा पनि जारी
nagariknews.nagariknetwork.com · Sat Jun 20 17:04:18 GMT 2026

भारतमा नीट पेपर लीकको विरोधमा ककरोच जनता पार्टी (सिजेपी) ले राजधानीको जन्तरमन्तरमा जारी राखेको प्रदर्शन रातमा पनि चलिरहेको छ।
प्रशासनले स्थानीय समय अनुसार साँझ पाँच बजेसम्मका लागि मात्र प्रदर्शनको अनुमति दिए पनि प्रदर्शनकारीहरू अझै पछि हटेका छैनन्। केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शनकारीहरूले थाल ठटाएर 'गो प्रधान, गो' को नारा लगाएका छन्। समयसीमा समाप्त भएपछि दिल्ली प्रहरीले घटनास्थलमा पुगेर प्रदर्शनकारीलाई त्यहाँबाट हट्न आग्रह गर्दै उनीहरूले बजाउँदै गरेको थाल खोस्ने प्रयास गरेको थियो। प्रहरीले थप समयका लागि अनुमति नभएको भन्दै प्रदर्शन जारी राख्न रोक लगाएको छ।
विरोधस्थलमा नीट पेपर लीकपछि आत्महत्या गरेका विद्यार्थीहरूको पोस्टर प्रदर्शन गरिएको छ। दिल्लीको जन्तरमन्तरमा यस मुद्दालाई लिएर भएको यो दोस्रो विरोध प्रदर्शन हो।
सिजेपीका संस्थापक अभिजीत दीपकेले सरकारको विरोध गर्ने नयाँ शैली अपनाएका छन्। उनले भने, 'यदि थाल ठटाएर कोरोना भाइरस समाप्त गर्न सकिन्छ भने, हामीले शिक्षामन्त्रीलाई हटाउन पनि थाल ठटाउनुपर्छ।' उनले थप चेतावनी दिँदै भने, 'लाठीचार्ज होस् वा गिरफ्तारी, शिक्षामन्त्रीले राजीनामा नदिएसम्म हामी जाने छैनौँ।' उनले आफ्ना समर्थकहरूलाई जेल भर्नसमेत आह्वान गरेका छन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)