“अहिलेको कांग्रेस-एमाले गठबन्धन राजावादी गठबन्धन हो” : प्रभु साह
reportersnepal.com · Sat Jul 27 19:27:50 UTC 2024
-प्रभु साह, अध्यक्ष (आम जनता पार्टी)
बाहिर भन्नको लागि अहिले कांग्रेस र एमालेको सरकार भन्छन् । तपाईं÷हामीले पनि त्यही भन्छौं । भित्री रूपमा तपाईंहरु हेर्नुहुन्छ भने नेपाली कांग्रेस बनाउनेहरु अहिले नेतृत्वमा छैनन् । उता, एमाले बनाउनेहरुपनि अहिले नेतृत्वमा छैनन् । एमाले बनाउनेहरु अहिले उत्पीडित र प्रताडित भएका छन् । कांग्रेस बनाउनेहरुपनि प्रताडित छन् । कांग्रेस र एमालेलाई प्रतिगामी यात्रामा लैजाने र राजासँग मिलाउनेहरु अहिले नेतृत्वमा छन् । जुनबेला नेपालमा लोकतन्त्रको लडाईं चलिरहेको थियो, जनताले लोकतन्त्र खोजिरहेका थिए । त्यतिवेला नेपाली कांग्रेस दुई धार थियो । एउटा धार जो राजाको शासनलाई निरन्तरता दिन चाहन्थ्यो । अर्को धार नेपालमा लोकतन्त्र ल्याउन चाहन्थ्यो । अहिलेको जो नेतृत्व छ- त्यो जनताको धारको पक्षधर नेता होईन । लोकतन्त्र चाहने नेता होईन । नेपाली कांग्रेसलाई राजासँग मिलाउन चाहने नेतृत्व अहिले कांग्रेसको नेतृत्वमा छन् । कांग्रेसजस्तै एमालेभित्र पनि दुई धार थियो । एमालेको पनि एउटा धार जनआन्दोलनलाई सहयोग गर्न चाहन्थ्यो । देशमा लोकतन्त्र स्थापना गर्न चाहन्थ्यो । अर्को धार, राजाको शासनलाई स्थायित्व दिन चाहन्थ्यो । राजाको शासनलाई निरन्तरता दिन चाहने र देशमा निरंकुशतालाई बलियो बनाउन चाहने कांग्रेस र एमालेभित्रको त्यो धार अहिले नेतृत्वमा छ । अहिलेको कांग्रेस र एमालेको यो गठबन्धनलाई राजावादी या प्रतिगामी गठबन्धन भनेपनि हुन्छ । अहिलेपनि नेपाली कांग्रेसभित्र जो प्रजातन्त्र र अग्रगमनको लागि लडे, तिनीहरु अहिलेपनि दमित छन् । कांग्रेस कांग्रेसजस्तो छैन् । उनीहरुले आफूलाई कांग्रेसी भनेपनि कांग्रेसमा उनीहरुको कुनै महत्व (भ्यालु) छैन् । एमालेभित्र पनि त्यस्तै देखिन्छ । एमालेभित्र जो राजाको सक्रिय शासन चाहन्थे र राजाको शासनको निरन्तरता चाहनेहरु नै अहिले नेतृत्वमा छन् । अहिलेको यी पात्र र प्रवृत्तिलाई हेर्नुहुन्छ भने देशलाई पछाडि धकेल्न चाहनेहरु अहिले देशको नेतृत्वमा छन् । देशलाई पछि धकेल्नको लागि यिनीहरुले अन्तिम प्रयास गर्दैछन् । यी दुईवटै नेतृत्व (शेरबहादुर देउवा र केपी शर्मा ओली) देशलाई पछाडि धकेल्न र देशलाई गुमराहमा पार्न अनि जनतालाई अझै दुःख दिन गठबन्धनको नाममा एउटा अन्तिम प्रयास गर्दैछन् । देशले यतिवेला यो संकटको अवस्थामा एउटा ध्रुवीकरण खोजिरहेको छ । अहिले देश र जनतालाई अग्रगामी दिशामा अघि बढाउने एउटा कित्ता छ । अर्को कित्ता देशलाई पछि धकेल्ने छ । कांग्रेस र एमालेको गठबन्धनलाई देशमा दुई ध्रुवीकरणको सुरुवातको रुपमा लिनुपर्छ । यसअघिसम्म देशमा तीन वटा ध्रुव देखिएको थियो । एउटा जनताको शासन चाहने, अर्को दलको शासन र तेस्रो ध्रुव भनेको राजाको शासन चाहने ध्रुव थियो । अब क्रमशः देश दुई ध्रुवमा विभाजित हुँदैछ । एउटा अग्रगामी र अर्को पश्चगामी । जब–जब देशमा प्रतिक्रियावादीहरुले उल्टो बाटो लिने र अधिकार खोस्ने दुष्प्रयास र कुचेष्टा गरेका छन्, तब–तब देशमा विस्फोट भएको छ । हिजोका आन्दोलन हेर्न सक्छौं । जब ज्ञानेन्द्र राजाले सक्रियता देखाए र जनताको भएका अधिकार पनि खोस्ने कोशिस गरे, देशमा दोस्रो जनआन्दोलन भयो । र, आज मुलुक गणतन्त्रमा आयो । आज हिजोको ज्ञानेन्द्रकै जसरी प्रतिक्रियावादीहरुले दुस्साहस गर्दैछन् । कांग्रेस र एमाले मिलेर भएका अधिकार पनि खोस्ने प्रयास गरिरहेका छन् । अहिलेको यो कांग्रेस र एमालेको गठबन्धन आज बनेको गठबन्धन होईन, पहिलापनि यी दुई दलले गठबन्धन बनाएका थिए । जहिले जहिले कांग्रेस र एमालेको गठबन्धन बनेको छ, त्यतिवेला नेपाली जनताले दुःख पाएको इतिहास छ । २०६१ सालको ज्ञानेन्द्रको शाहीकालको सरकार यस्तै थियो । त्यतिवेला केपी ओलीजीको पार्टी एमाले शेरबहादुर देउवाजीको सरकारमा थियो । आज ओलीजीको नेतृत्वमा सरकार छ, त्यसमा देउवाजीको पार्टीपनि सहभागी छ । देउवाजीको ज्ञानेन्द्रको शाहीकालको सरकारमा एमालेपनि सामेल थियो, त्यतिवेला जनताले कसरी दुःख पाए भन्ने कुरा हामीले अहिलेपनि बिर्सिएका छैनौं । संविधानसभा भयो, संसद्वादी र माओवादी मिलेर दोस्रो जनआन्दोलन सफल भयो । अन्तरिम संविधान बन्यो । लगत्तै कांग्रेस र एमालेको सहकार्य भयो । त्यसले के गर्यो भन्दा देशमा गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहलाई गणतन्त्रको राष्ट्रपति हुनबाट रोक्यो । हुन दिईएन । दोस्रो कांग्रेस र एमालेले संविधान बन्न दिएनन् । संविधान जसरीपनि बनाउन नदिने अठोटका साथ उनीहरुको गठबन्धन भएको थियो । अन्तमा खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष बनाएर संविधानसभा समाप्त गरे । दोस्रो संविधानसभाको निर्वाचन भयो, फेरि कांग्रेस र एमाले मिले । उनीहरुले कामै नलाग्ने संविधान बनाए । देशलाई गुमराहमा राख्ने र भएका अधिकार खोस्ने काम गरे । अधिकारविहीन संविधान बनाए । अहिले त्यही संविधानमा भएको अधिकारलाई पनि खोस्ने प्रयास गर्दैछन् । कांग्रेस र एमालेले पहिलो संविधानसभाबाट संविधान बनाउन दिएनन् । दोस्रो संविधान सभाबाट संविधान बिगार्ने काम गरे । र, अहिले तेस्रोपटक उनीहरु भएको संविधानको अधिकार पनि खोस्न खोज्दैछन् । अब त्यतातर्फ हाम्रो नजर हुन जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)