टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
ratopati.com · Sat Jun 20 19:33:40 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निकै रोमाञ्चक मानिएको खेलमा आज चार पटकको विश्व विजेता जर्मनी र अफ्रिकी टोली आइभरी कोस्टबिच प्रतिस्पर्धा हुँदै छ । क्यानडाको टोरन्टो स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान १ः४५ बजे सुरु हुनेछ । समूह चरणको यो दोस्रो खेल दुवै टोलीका लागि अघिल्लो चरण (नकआउट) को यात्रा सहज बनाउन निकै महत्त्वपूर्ण मानिएको छ ।
जर्मनीले आफ्नो पहिलो खेलमा नवप्रवेशी राष्ट्र कुरासाओमाथि ७–१ को फराकिलो जित दर्ता गर्दै विश्वकपमा सानदार सुरुवात गरेको थियो । उक्त खेलमा काइ हाभर्ट्जले दुई गोल गरेका थिए भने फेलिक्स नमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नथ्यानियल ब्राउन र डेनिज उन्डाभले एक–एक गोल थपेका थिए । नवप्रवेशी र कम अनुभवी टोलीहरूविरुद्ध हाबी हुने आफ्नो ऐतिहासिक बिरासतलाई निरन्तरता दिँदै जर्मनीले आफूलाई पुनः उपाधि दाबेदारको रूपमा उभ्याएको छ । सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको खस्किँदो छविलाई सुधार्दै जर्मनी अहिले उत्कृष्ट लयमा देखिएको छ ।
Germany vs Côte d'Ivoire फिफा विश्वकप २०२६
अर्कोतर्फ, आइभरी कोस्टले पनि आफ्नो पहिलो खेलमा इक्वेडरलाई १–० को कठिन गोल अन्तरले पराजित गर्दै ३ अंक बटुलिसकेको छ । जर्मनी र आइभरी कोस्ट दुवैको खातामा समान ३–३ अंक भए पनि राम्रो गोल अन्तरका कारण जर्मनी तालिकाको शीर्ष स्थानमा छ भने आइभरी कोस्ट दोस्रो स्थानमा रहेको छ ।
आजको खेलमा जित हात पार्ने टोली ६ अंकका साथ अघिल्लो चरण (नकआउट) मा प्रवेश गर्ने सम्भावना लगभग निश्चित हुनेछ । जर्मनी आफ्नो आक्रामक लयलाई कायम राख्दै लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आइभरी कोस्ट जर्मनीजस्तो शक्तिशाली टोलीलाई रोकेर आफ्नो ऐतिहासिक यात्रालाई थप बलियो बनाउने दाउमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)