गाक्पो र ब्रोबेयको दोहोरो गोलमा नेदरल्यान्ड्सको शानदार जित, स्विडेन ५–१ ले पराजित
nepalpress.com · Sat Jun 20 20:00:12 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
ह्युस्टन स्टेडियममा करिब ६९ हजार दर्शकमाझ भएको खेलमा कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपे।
जापानसँग २–२ को बराबरी खेलेर प्रतियोगिता सुरु गरेको नेदरल्यान्ड्सले दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै पहिलो जित दर्ता गर्यो।
यो नतिजासँगै नेदरल्यान्ड्स चार अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ। स्विडेन तीन अंकसहित दोस्रो स्थानमा छ भने जापानको एक र ट्युनिसियाको शून्य अंक छ।
खेलको पाँचौँ मिनेटमै ब्रोबेयले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। कोडी गाक्पोको पासमा उनले नजिकबाट बल जाली चुमाएका थिए।
१७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै ब्रोबेयको सामु पुगेपछि उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे।
पहिलो हाफमा केही अवसर सिर्जना गरे पनि स्विडेनले गोल गर्न सकेन। लिभरपुलका फरवार्ड अलेक्जान्डर इसाक र आर्सनलका भिक्टर ग्योकेरेसले अपेक्षित प्रभाव देखाउन सकेनन्।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले नेदरल्यान्ड्सको अग्रता ३–० बनाए। डम्फ्रिसकै अर्को खतरनाक क्रसमा उनले नजिकबाट गोल गरे। ५४औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४–० पुर्याए।
५९औँ मिनेटमा स्विडेनका वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले उत्कृष्ट फिनिसिङमार्फत एक गोल फर्काए। उनले नेदरल्यान्ड्सको रक्षापंक्ति छिचोल्दै गोल गरेका थिए।
तर खेलको अन्त्यतिर समरभिलले गोल थप्दै नेदरल्यान्ड्सको ५–१ को शानदार जित सुनिश्चित गरे। उत्तर अमेरिकामा जारी प्रतियोगितामा समरभिलको यो दोस्रो गोल हो।
हारका बाबजुद स्विडेनले केही राम्रो अवसर सिर्जना गरेको थियो। यासिन आयारी र ग्योकेरेसले पाएका अवसर सदुपयोग गर्न नसक्दा टोली ठूलो हारबाट बच्न सकेन। नेदरल्यान्ड्सका गोलकिपर बार्ट फर्ब्रुगेनले पनि उत्कृष्ट प्रदर्शन गर्दै स्विडेनका धेरै प्रयास विफल पारे।
अब समूह चरणको अर्को खेलमा स्विडेनले जापानको सामना गर्नेछ भने नेदरल्यान्ड्सले ट्युनिसियासँग खेल्नेछ। स्विडेनको अझै पनि अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)