कस्ता अर्थमन्त्री हुन् स्वर्णिम वाग्ले ?
baahrakhari.com · Thu May 28 01:11:00 GMT 2026
अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्लेले कस्ता काम गरेका छन् ? अर्थमन्त्रीका रूपमा उनी कस्तो लाग्छन् ? उनका काम नियाल्ने हो भने जवाफ मिल्छ - ‘अर्थमन्त्रीका रूपमा उनले गज्जब गरेका छन् भनी भन्न सकिने अवस्था छैन ।’ सायद हतार पनि होला ।
उनी अर्थमन्त्रीको कुर्सी (ओहोदा) मा बसेको दुई महिना मात्र पुग्दै छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा स्वर्णिम वाग्लेले गरेका काम खासै उल्लेखनीय भेटिँदैनन् । अब उनले केही दिनपछि सदनमा प्रस्तुत गर्ने बजेट र त्यसपछिका काम नै उनको मूल्याङ्कनको कसी हुनेछन् ।
अर्थतन्त्र राम्रो हुँदै छ वा उस्तै छ भनी जान्न धेरै अर्थशास्त्रका तथ्याङ्क केलाउनै पर्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने युवाको भिड केही मात्रामा कम हुन सक्यो भने अर्थतन्त्र सुधार भएछ भन्न सकिन्छ ।
कमसेकम विदेश जाने युवाको भिड २० को १९ नहुँदासम्म अर्थमन्त्रीलाई सफल मान्न सकिँदैन । युवाहरूलाई विदेश जान तत्काल रोक्न सकिँदैन । यो पनि यथार्थ हो । तर, कम गर्न सकिन्छ । त्यो आउने बजेट र सरकारको अर्थनीतिमा देखिनेछ । अब बजेटमार्फत यो सरकारले अर्थतन्त्रलाई नयाँ ढङ्गबाट अगाडि बढाउन सक्छ कि सक्दैन भन्ने त केही दिनपछि नै थाहा हुनेछ ।
अर्थमन्त्री हुँदा रूपज्योतिले अर्थ मन्त्रालयको आफ्नो कार्यकक्षमा हार्वर्ड विश्वविद्यालयबाट प्राप्त डिग्रीको प्रमाणपत्र भित्तामा राखेका थिए । तर, अर्थमन्त्रीका रूपमा उनको कार्यशैली भने औसतमा कमजोर थियो ।
त्यसबेला पत्रकार मित्र प्रेम खनालले उक्त प्रमाणपत्रप्रति व्यङ्ग्य गर्दै भनेका थिए, ‘डिग्री छ तर नयाँपन केही छैन, यी मन्त्रीले त हार्वर्डकै धज्जी उडाए ।’
केही महिना अर्थ मन्त्रालयमा बसेका रूपज्योति कुनै सम्झिन लायक काम नगरी बिदा भए । बरु कुनै बेला नेकपा (एमाले)बाट सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा उनी भर्खर अर्थशास्त्रमा एमए पढ्न भर्ना भएका थिए । पाण्डे सफल अर्थमन्त्रीको छवि बनाउँदै बाहिरिएका थिए । पाण्डेलाई अर्थशास्त्रका कडा ‘जार्गन’ (पारिभाषिक शब्द) भन्दा पनि सामान्य नागरिकको समस्यामा बढी चासो थियो ।
वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्ले पनि हार्वर्डबाट उच्च शिक्षा लिएका हुन् । अमेरिकामा केही समय काम गरेर उनी नेपाल फर्किएका हुन् । उनी अर्थ मन्त्रालयका लागि नयाँ हुन् तर सरकारको नीतिगत तहमा काम गरेको यो उनको पहिलो पटक भने होइन । प्रधानमन्त्री अध्यक्ष हुने राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा उनले काम गरिसकेका छन् ।
त्यो पद पनि सानो होइन, मर्यादाक्रममा राज्यमन्त्री सरह हुन्छ । त्यहाँ रहँदा पनि थुप्रै नीतिगत सुधारहरू गर्न सकिन्छ । उक्त पदमा हुँदा स्वर्णिमले गरेका काम औसतमात्रै छन् ।
सहकारी समस्या, सानो ऋण दिने लघुवित्तका समस्यादेखि चितवनका कृषकले आफ्नो बारीमा फलेको गोलभेडा सडकमा फाल्नुपर्ने पीडा त्यसबेला पनि थिए । दूध उत्पादक कृषक हुन् वा उखु उत्पादक आफ्नो उत्पादनको पैसा नपाएको समस्या त्यसबेला पनि थियो । ती समस्या अझै पनि छन् ।
नेपाली कांग्रेस नेतृत्वको सरकार विघटन भएपछि स्वर्णिम वाग्लेको उपाध्यक्ष पद पनि गयो । त्यसपछि उनी जागिर खान विदेशतिर लागे ।
फेरि नेपाल आए र गैरसरकारी संस्थामा आबद्ध भए । त्यतिबेला धेरैले भन्थे— विदेशी संस्थाले नेपालमा अध्ययन अनुसन्धान गर्ने परियोजना दिँदा पहिला स्वर्णिम वाग्लेकहाँ पुग्थ्यो र उनले सिफारिस गरेकाले मात्र त्यो काम पाउँथे ।
हार्वर्ड विश्वविद्यालयको नाम जोडिएको हुँदा स्वर्णिम पहिलो रोजाइमा पर्नु स्वाभाविक पनि हो । विश्वका अधिकांश चर्चित विश्वविद्यालयले यसरी नै ‘नेटवर्क’ फैलाएका वा बनाएका हुन्छन् । यो पनि एक प्रकारको नीति नै हो । तर यति हुँदाहुँदै पनि स्वर्णिमले देशका लागि सम्झन लायक काम भने देखाएका छैनन् ।
नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३ प्रतिशतबाट बढेर ६ प्रतिशत पुग्यो, बजेटले सात प्रतिशत हासिल गर्ने लक्ष्य राखेको छ, मुद्रास्फीति नियन्त्रणमा छ, शोधनान्तर घाटा होइन हामी नाफामा छौँ, आयात घटेको छ, हाम्रो अवस्था अल्पविकसित देशबाट विकासशील देशमा फड्को मार्ने क्रममा छ र ‘गिनी कोइफिसेन्ट’ हाम्रो पक्षमा देखिन्छ– कसैले यस्ता अर्थशास्त्रका शब्द प्रयोग गरेर बोल्यो भने हामी ठान्छौँ - वाह! यससँग अर्थशास्त्रको ठूलो ज्ञान रहेछ ।
यो त हामीले विगतमा प्रायः सबै अर्थमन्त्रीको मुखबाट सुन्दै आएको कुरा भयो । तर, हाम्रो बाध्यता र कृषकले सडकमा गोलभेडा फाल्नुपर्ने अवस्था जहाँको तहीँ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुलका हुल युवा रोजगारका लागि विदेश गइरहेको यथार्थ हाम्रैसामु छ ।
नेपालको भौगोलिक अवस्थाअनुसार साना उद्यम व्यवसाय फस्टाउनुपर्ने हो तर त्यसो हुनसकेको छैन । थुप्रै साना उद्यमीहरू सङ्कटमा परेका छन् । कृषकहरू निरुत्साहित छन् । हाम्रो वित्तीय क्षेत्र अझै ग्राहकमुखी हुनसकेको छैन ।
विसं २०५६ सालमा गरिएको वित्तीय क्षेत्र सुधारले कानुनीरूपमा वित्तीय संस्थालाई मजबुत त बनायो तर ग्राहकमुखी बनाउन सकेन । वाणिज्य बैंकहरू उद्यममैत्री हुनसकेका छैनन् र जग्गा धितोकेन्द्रित ऋणमात्र प्रवाह गरिरहेका छन् ।
जहाँतहीँ सुशासनको अभाव छ । गाडी चढ्नेले झन्डै ३०० प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ अनि त्यहाँ हाल्ने तेलमा पनि उच्च कर छ । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम वित्तीय रूपमा जर्जर छ । न यो नाफामा छ, न त जनतालाई नै भरपर्दो सेवा दिन सकेको छ । सेयर बजार कमजोर धरातलमा चलिरहेको छ ।
युवा असन्तुष्टिको एउटा मुख्य कारण देशमा आर्थिक अवसर नहुनु हो । बीस लाख रुपैयाँ खर्च गरेर एमबीए गर्नेले मासिक ३० हजार रुपैयाँको जागिर पाउन कठिन छ ।
काठमाडौँमा १ लाख रुपैयाँ आम्दानी नगर्ने हो भने घरपरिवार चलाउन धौधौ पर्छ तर सचिवकै तलब एक लाख छैन । जनता पुराना राजनीतिक पार्टी र तिनका नेताप्रति असन्तुष्ट हुनुको मुख्य कारण पनि आर्थिक पक्षसँग नै जोडिएको छ ।
यस सरकारले पनि आर्थिक क्षेत्रसँग जोडिएका असन्तुष्टि सम्बोधन गर्न सकेन भने फेरि देशमा अर्को विद्रोह हुने अवस्था आउँछ ।
साहसिक आर्थिक सुधार कार्यक्रम ल्याउन नसक्नु र सुशासनको अभाव हुनु विगतका सरकारका कमजोरी थिए । अर्थमन्त्री भएलगत्तै स्वर्णिमले दोस्रो चरणको आर्थिक सुधार कार्यक्रम ल्याउने घोषणा गरेका छन् । नेपाली नागरिकका समस्या सम्बोधन गर्ने गरी आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्ने चुनौती उनका सामु छ ।
यसका लागि उनले आफ्नै पार्टीका सांसदसँग पनि भिड्नुपर्ने अवस्था आउन सक्छ । चुनावी दौडाहाका बेला बालेन्द्र शाहले प्रश्न उठाएका थिए - ‘हेटौँडा सिमेन्ट उद्योग किन चलेन ?’
सरकारले कपडा कारखाना चलाउनुपर्छ, कागज कारखाना खोइ? भन्ने जस्ता प्रश्न गर्नेहरू जताततै छन् । आर्थिक सुधार कार्यक्रम ल्याउँदा अर्थमन्त्रीले यस्ता प्रश्न उठाउनेहरूसँग पनि डटेर सामना गर्न सक्नुपर्छ ।
सहरमा हुर्किएका, नेपालकै प्रतिष्ठित विद्यालय बूढानीलकण्ठमा पढेका अर्थमन्त्री स्वर्णिम वाग्लेले जेन-जी आन्दोलन, युवा जमातमा रहेको निराशा कम गर्ने र सामान्य जनताको चाहनालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन सकेनन् भने अर्को विद्रोहको पृष्ठभूमि तयार हुनेछ ।
#अर्थमन्त्री
#स्वर्णिम वाग्ले
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)