जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
ratopati.com · Sat Jun 20 21:39:14 GMT 2026

काठमाडौँ । क्यानडाको टोरन्टो स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘ई’ अन्तर्गतको खेलमा जर्मनीले आइभरी कोस्टविरुद्ध रोमाञ्चक पुनरागमन गरेको छ । खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका डेनिज उन्डाभले गोल गरेपछि खेल १–१ को बराबरीको स्थितिमा पुगेको छ ।
जर्मनीका प्रशिक्षकले खेलमा परिवर्तन ल्याउनका लागि ६० औँ मिनेटमा जमाल मुसियालालाई बाहिर निकाल्दै स्ट्राइकर डेनिज उन्डाभलाई मैदान प्रवेश गराएका थिए । प्रशिक्षकको यो निर्णय सही सावित भयो जब मैदान छिरेको मात्र ८ मिनेटपछि अर्थात् ६८ औँ मिनेटमा उन्डाभले सानदार गोल गर्दै टोलीलाई बराबरीमा ल्याए ।
यसअघि पहिलो हाफमा जर्मनीका दुई गोल रेफ्रीले रद्द गरिदिएपछि दबाबमा परेको टोलीविरुद्ध आइभरी कोस्टका फ्रान्क केसीले ३० औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उन्डाभको यो महत्वपूर्ण गोलले जर्मनीलाई खेलमा फर्काएको मात्र छैन, अंक तालिकामा आफ्नो बलियो स्थिति कायम राख्न समेत मद्दत पुर्याएको छ ।
अहिले खेल निकै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ । दुवै टोलीले आफ्नो पहिलो खेल जितेर ३–३ अंक बटुलिसकेकाले यो खेलको नतिजाले समूह ‘ई’ को शीर्ष स्थान र नकआउट चरणको समीकरण तय गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा