डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
ratopati.com · Sat Jun 20 22:13:47 GMT 2026

काठमाडौँ । क्यानडाको टोरन्टो स्टेडियममा आइतबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गतको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा जर्मनीले आइभरी कोस्टमाथि २–१ को सानदार पुनरागमन जित हात पारेको छ । यो जितसँगै जर्मनीले दुई खेलबाट स्पष्ट ६ अंक जोड्दै विश्वकपको अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको छ । सन् २०१८ र २०२२ को विश्वकपमा लगातार समूह चरणबाटै बाहिरिएर अपमानजनक बहिर्गमन बेहोरेको जर्मनीका लागि यो सफलताले खस्किएको साखलाई पुनः फर्काएको छ ।
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
नेपाली समय अनुसार आइतबार बिहान १ः४५ बजे सुरु भएको खेलको पहिलो हाफ जर्मनीका लागि निकै दुर्भाग्यपूर्ण रह्यो । खेलको २१ औं मिनेटमा अलेक्जेन्डर पाभ्लोभिच र ४० औं मिनेटमा काइ हाभर्ट्जले गोल गरे पनि रेफ्रीले फउलका कारण ती दुवै गोललाई मान्यता दिएनन् । यसैबीच, खेलको ३० औं मिनेटमा आइभरी कोस्टका मिडफिल्डर फ्रान्क केसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएपछि जर्मनी दबाबमा परेको थियो ।
दोस्रो हाफमा जर्मनीका प्रशिक्षकले ६० औं मिनेटमा जमाल मुसियालाको स्थानमा डेनिज उन्डाभलाई मैदान पठाउने निर्णय गरे, जुन खेलको मुख्य मोड सावित भयो । मैदान छिरेको ८ मिनेटमै अर्थात् ६८ औं मिनेटमा उन्डाभले सानदार गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए । खेल बराबरीमै सकिने निश्चित देखिएका बेला इन्जुरी समयमा फेलिक्स नमेचाको पासमा उन्डाभले नै व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई सनसनीपूर्ण जित दिलाए ।
यसअघि आफ्नो पहिलो खेलमा कुरासाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको जर्मनी अहिले ६ अंकका साथ समूह ‘इ’ को शीर्ष स्थानमा रहेको छ । लगातार दुई विश्वकपमा समूह चरणबाटै घर फर्कनु परेको नमीठो इतिहासलाई मेटाउँदै जर्मनी यसपटक अन्तिम ३२ मा प्रवेश गर्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा