हर्मुज स्ट्रेटमा तनाव: इरानी नौसेनाद्वारा अमेरिकी ट्याङ्करमाथि गोली प्रहार
canadanepal.com · Thu May 28 03:24:36 GMT 2026

वासिङ्टन- रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज स्ट्रेट (Strait of Hormuz) मा इरानी नौसेना र अमेरिकी सेनाबीच पुनः सैन्य मुठभेड भएको छ। बुधबार राति इरानी नौसेनाले एक अमेरिकी तेल ट्याङ्करलाई निशाना बनाउँदै गोली चलाएपछि सो क्षेत्रमा सैन्य तनाव चुलिएको हो।
इरानी सरकारी समाचार एजेन्सी 'तस्निम' का अनुसार, उक्त अमेरिकी ट्याङ्करले अन्तर्राष्ट्रिय जलमार्गको नियम उल्लङ्घन गर्दै आफ्नो राडार प्रणाली पूर्ण रूपमा बन्द गरेर हर्मुज स्ट्रेट पार गरिरहेको अवस्थामा इरानी पक्षले चेतावनीस्वरूप गोली चलाएको थियो।
इरानी नौसेनाले अमेरिकी ट्याङ्करमाथि गोली चलाएलगत्तै सो क्षेत्रमा सक्रिय अमेरिकी सेनाले प्रतिवाद गरेको थियो। अमेरिकी सैन्य बलले इरानको बन्दर अब्बास बन्दरगाहनजिकै रहेको एउटा खाली क्षेत्र (Uninhabited Area) लाई निशाना बनाएर जवाफी फायर गरेको जनाइएको छ।
दुवै पक्षबीच केही समय भएको यस सैन्य टकरावमा हालसम्म कुनै पनि मानवीय हताहत वा ठूलो क्षतिको विवरण भने प्राप्त भएको छैन। यो सैन्य घटनालाई लिएर अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) वा ह्वाइट हाउसले अहिलेसम्म कुनै आधिकारिक र विस्तृत वक्तव्य भने जारी गरिसकेका छैनन्।
यसैबीच, हर्मुज स्ट्रेटको तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान नीतिबारे ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकमा कडा टिप्पणी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले इरानको आर्थिक र सैन्य संयन्त्र कमजोर भइसकेको दाबी गर्दै अब वासिङ्टनसँग नयाँ सम्झौतामा आउनुबाहेक तेहरानसँग अर्को विकल्प नरहेको जिकिर गर्नुभयो।
"इरानले मलाई पर्खाएर थकाउने र गलाउने सोचेको थियो। उसलाई लागेको थियो होला मेरो मध्यावधि चुनाव आउँदै छ र म दबाबमा पर्नेछु, तर मलाई यसको कुनै मतलब छैन। इरानको आन्तरिक र बाह्य अवस्था अहिले यस्तो मोडमा पुगेको छ कि उ अब केवल अमेरिकासँग सम्झौता चाहन्छ र यसका लागि बाध्य हुनेछ।"
पछिल्लो समय अमेरिका, इजरायल र इरानबीचको सैन्य सन्तुलन बिग्रँदै जाँदा खाडी क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठ्दै आएको छ। विश्वको ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुने हर्मुज स्ट्रेटमा भएको यस ताजा गोलीबारी र राष्ट्रपति ट्रम्पको हठपूर्ण राजनीतिक अडानले आगामी दिनमा यो द्वन्द्व थप कडा हुने सङ्केत देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
डोनाल्ड ट्रम्प