गढवाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या
ratopati.com · Sat Jun 20 22:53:37 GMT 2026

दाङ । दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या देखिएको छ । गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्त अल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो ।
गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा तीन विद्यालयका ७०० बढी किशोरीको परीक्षण सम्पन्न भएको छ । जनता माध्यमिक विद्यालय, शुभतारा इङ्लिस बोर्डिङ स्कुल र ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुल गरी तीन विद्यालयका ७४५ किशोरीको परीक्षण गर्दा ५३७ जनामा रक्त अल्पता देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिस्ट उज्ज्वलकुमार पौडेलले जानकारी दिए।
गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले किशोरीको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्त अल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार यही असार ८ गते गढवा गाउँपालिका–३ का थप तीन विद्यालयका किशोरीको रक्त अल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । किशोरीमा उच्च दरमा रक्त अल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)