टिकटक प्रतिबन्धले नेपाललाई झन्डै २ अर्ब घाटा
barnanmedia.com · Wed Aug 14 21:56:47 UTC 2024

तत्कालीन प्रचण्ड सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउँदा नेपालले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ । टिकटक प्रतिबन्धका कारण क्याश सर्भर विस्थापित भई अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात बढ्दा नौ महिनामा मुलुकले थप एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी गुमाउन पुगेको हो ।
सरकारले प्रतिबन्ध लगाए पनि भीपीएन तथा ओपन डीएनएसको सहयोगमा टिकटकको प्रयोग भने रोकिएको छैन । जसले गर्दा प्रतिबन्ध पछिको समयमा पनि नेपालमा यो सबैभन्दा बढी ब्यान्डविथ खपत गर्ने माध्यमहरूमा पर्छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालमा सालाखाला कूल सवा दुई टीबीपीएस अर्थात् दुई हजार २५० जीबीपीएस ब्यान्डविथ भित्रिरहेको छ । जसमध्ये करिब २८ प्रतिशत अर्थात् ६३० जीबीपीएस ट्राफिक क्लाउडफ्लेयरको सर्भर मार्फत आइरहेको नेटवर्क सेवा प्रदायकहरू बताउँछन् । त्यसमध्येको अधिकांश (करिब ९० प्रतिशत) ट्राफिक टिकटकको रहेको क्लाउडफ्लेयरले अनौपचारिक रूपमा बताउने गरेको छ । एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय इन्टरनेट एड्रेस रजिस्ट्री (एप्निक) को तथ्याङ्कमा क्लाउडफ्लेयर नेपालको सबैभन्दा धेरै प्रयोगकर्ता हुने आठौँ आईएसपी देखिनुले पनि यसलाई पुष्टि गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)