मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उन्डाभको दुई गोलमा जर्मनी विश्वकपको नकआउट चरणमा

nepalviews.com · Sun Jun 21 00:46:53 GMT 2026

काठमाडौं । वैकल्पिक खेलाडी डेनिस उन्डाभको उत्कृष्ट दुई गोलको मद्दतले जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। क्यानडाको टोरन्टोमा आइतबार बिहान सम्पन्न समूह 'इ' को रोमाञ्चक खेलमा आइभरी कोस्टमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै जर्मनीले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेर जर्मनी समूहको शीर्ष स्थानमा छ। पराजित आइभरी कोस्टको २ खेलबाट ३ अंक छ। जर्मनीले अब समूह चरणको अन्तिम खेलमा इक्वेडरको सामना गर्नेछ भने आइभरी कोस्टले कुरासाओसँग खेल्नेछ।

खेलको ३०औं मिनेटमा कप्तान फ्रान्क कसीले गोल गर्दै आइभरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा जर्मनीका दुई प्रहारले जाली चुमे पनि त्यसले मान्यता पाउन सकेन।

६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका डेनिस उन्डाभ जर्मनीका लागि 'गेम चेन्जर' साबित भए। नादिएम अमिरीको पासमा उन्डाभले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। खेल बराबरी तर्फ धकेलिरहेका बेला इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासलाई सदुपयोग गर्दै उन्डाभले व्यक्तिगत दोस्रो गोल गरी जर्मनीको जित निश्चित गरे। जारी विश्वकपमा उन्डाभको यो तेस्रो गोल हो।

यही समूहका अन्य दुई टोली इक्वेडर र कुरासाओबीचको खेल आजै बिहान पौने ६ बजेबाट सुरु भएको छ, जहाँ दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय