उन्डाभको दुई गोलमा जर्मनीको रोमाञ्चक पुनरागमन, आइभरी कोस्ट २–१ ले पराजित
kalakarmi.com · Sun Jun 21 00:56:29 GMT 2026
टोरन्टो- जर्मनीले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को रोमाञ्चक खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ । गए राति टोरन्टोमा भएको खेलमा पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै जर्मनीले जित निकालेको हो ।
खेलको सुरुआतमा जर्मनीले दवाव बनाए पनि आइभरी कोस्टले काउन्टर आक्रमणमार्फत निरन्तर खतरा सिर्जना गरेको थियो । ३०औँ मिनेटमा यान डिओमान्डेको आकर्षक क्रसलाई फ्रान्क केसीले नजिकैबाट गोलमा परिणत गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा बराबरी गोल गर्न असफल जर्मनीका प्रशिक्षक जुलियन नागेल्समनले दोस्रो हाफमा गरेका परिवर्तन निर्णायक बने । ६८औँ मिनेटमा मैदान प्रवेश गरेका नादिम अमिरीको क्रसमा अर्का वैकल्पिक खेलाडी डेनिज उन्डाभले उत्कृष्ट भलीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
त्यसपछि आइभरी कोस्टले अन्तिम समयमा विजयी गोल गर्ने अवसर पाए पनि सिमोन अडिङ्ग्राले त्यसलाई सदुपयोग गर्न सकेनन् । यसको मूल्य टोलीले चुकाउनु पर्यो । इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स नेमेचाले दिएको सटिक पासमा उन्डाभले दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को रोमाञ्चक जित दिलाए ।
उन्डाभले बढाए हाभर्ट्जमाथिको दवाव
वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका उन्डाभले मात्र आठ मिनेटभित्र बराबरी गोल गरेका थिए भने इन्जुरी समयमा अर्को गोल थप्दै आफ्नो प्रभाव देखाए । विश्वकपमा जम्मा ५६ मिनेट खेल्दै तीन गोल गरिसकेका उनले अन्तिम समूह चरणको खेलमा सुरुआती रोजाइमा पर्नुपर्ने दवाव सिर्जना गरेका छन् ।
नेमेचा उत्कृष्ट
जर्मनीका फेलिक्स नेमेचा टोलीका उत्कृष्ट खेलाडीमध्ये एक बने । उनले मिडफिल्डमा ऊर्जावान प्रदर्शन गर्दै अन्तिम समयमा उन्डाभका लागि निर्णायक पास उपलब्ध गराए ।
यता लिरोय साने र जमाल मुसियाला अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रहे । कप्तान म्यानुएल नोएरले केही महत्त्वपूर्ण बचाउ गरे पनि केसीको गोल रोक्न भने असमर्थ रहे ।
प्रशिक्षक नागेल्समनको साहसी निर्णय सफल
प्रशिक्षक जुलियन नागेल्समनले दोस्रो हाफमा गरेका परिवर्तनले खेलको दिशा नै बदलिदियो । उन्डाभ र अमिरीलाई मैदानमा उतार्ने निर्णय सफल सावित हुँदा जर्मनीले बहुमूल्य जित निकाल्न सफल भयो ।
अब जर्मनीले समूह चरणको अन्तिम खेल इक्वेडरसँग खेल्ने छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका उन्डाभलाई सुरुआती टोलीमा राख्ने वा पुनः वैकल्पिक खेलाडीका रूपमा प्रयोग गर्ने भन्ने विषय नागेल्समनका लागि ठूलो निर्णय बन्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
फिफा