लागुऔषधसहित सासू-बुहारी पक्राउ
nagariknews.nagariknetwork.com · Sun Jun 21 01:28:29 GMT 2026

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित सासू र बुहारीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागुऔषधसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो।
जाँच तथा खानतलासीका क्रममा सरातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखेको लागुऔषध फेलापरेको हो। झोलाभित्र २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो। लागुऔषधसहित सासूबुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी खड्काले जानकारी दिए।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
नेपाल प्रहरी