मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय शिक्षामा सुधार

gorkhapatraonline.com · Sun Jun 21 01:44:53 GMT 2026

विद्यालय शिक्षाको अन्तिम खुड्किलो कक्षा १२ को नतिजामा सुधार आएको छ । अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको छ । दुई वर्षअघि कक्षा १२ को उत्तीर्ण प्रतिशत ५२.९१ प्रतिशत मात्रै थियो । दुई वर्षको अवधिमा कक्षा १२ को नतिजा झन्डै १७ प्रतिशतले बढेको छ । यस पटक कक्षा १२ को परीक्षामा नतिजा वृद्धि हुनुमा विविध कारण छन् । प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणमा शिक्षकलाई दिइएको तालिमले सकारात्मक प्रभाव परेको छ । विगतका नतिजा विश्लेषण गर्दै अपनाइएको सुधारात्मक उपायले सुधारमा सहयोग पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो समय प्रश्नपत्र निर्माणका लागि शिक्षकलाई तालिम दिन थालेको छ । दुई हजारभन्दा धेरै शिक्षकले यस्तो तालिम लिएका छन् । बोर्डले विगतका प्रश्नपत्र तथा नतिजाको विश्लेषण गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म नतिजा सुधारको अभियान चलाएको छ । विगतका कमजोरीको निर्मम समीक्षा गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सञ्चालन गरिएको नतिजा सुधार अभियानले शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई आआफ्नो जिम्मेवारीप्रति सजग बनाएको छ । त्यस्तै लेटर ग्रेडिङ निर्देशिकामा गरिएको व्यावहारिक संशोधन, जसले विद्यार्थीलाई आफू असफल भएको निश्चित विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिने सुविधा दिएको छ । यसले पनि विद्यार्थीको मनोवैज्ञानिक दबाब कम गर्न मद्दत पु¥याएको छ । बोर्डले यस पटकको परीक्षा गत जेठ १४ बाट २७ गतेसम्म सञ्चालन गरेको थियो ।

परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका थिए । सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो । बोर्डले निर्देशन भएको समयावधिअगावै नतिजा सार्वजनिक गर्न सफल भएको छ । यसअघि एसइईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । कक्षा १२ को नतिजा छिटो सार्वजनिक भएसँगै स्नातक तहमा भर्ना हुन विद्यार्थीलाई सहज भएको छ । विगतमा स्नातक तहको भर्नाको सूचना जारी हुँदासमेत कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थी मर्कामा पर्ने गरेका थिए । छिटो नतिजा प्रकाशन हुँदा समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव परेको छ । विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । यस पटक प्रशासनिक प्रव्रिmयालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको हो । विगतमा नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षासमेत पछाडि धकेलिने गरेको थियो । यस पटक समयमै कक्षा १२ को नतिजा आएकाले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित नहुने भएको छ । अब विश्वविद्यालयलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न मद्दत पुगेको छ । त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी गरिसकेका छन् । बोर्डले दुई विषयमा ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका परीक्षार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । यसबाट अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण हुने अवसर दिने छ ।

बोर्डले परीक्षा सम्पन्न भएको छोटो अवधि (मात्र ३५ दिन) भित्रै प्रविधिको उच्चतम प्रयोग गरी नतिजा सार्वजनिक गर्न सफल भएको छ । बोर्डको कार्यसम्पादनमा देखिएको यो प्रगति प्रशंसनीय पक्ष हो । यद्यपि यो सुधारमा रमाएर मात्रै बस्ने अवस्था भने छैन । नियमिततर्फ करिब ३० प्रतिशत विद्यार्थी अझै पनि ननग्रेडेडको दायरामा रहनुले हाम्रो शिक्षण सिकाइ प्रव्रिmयामा थप सुधार गर्नुपर्ने भएको छ । खास गरी गणित, अङ्ग्रेजी र विज्ञान जस्ता कठिन मानिने विषयमा विद्यार्थीको कमजोरी अझै पनि उस्तै छ । सरकारी र निजी विद्यालयबिचको नतिजामा अन्तर, भौगोलिक विकटताका कारण ग्रामीण क्षेत्रका विद्यार्थीले भोग्नु परेको गुणस्तरीय शिक्षक र शैक्षिक सामग्रीको अभाव जस्ता संरचनागत चुनौती अझै सम्बोधन हुन बाँकी नै छन् । अहिलेको मुख्य विषय भनेको केवल नतिजाको प्रतिशत बढाउनु मात्र होइन, उत्पादित जनशक्तिको गुणस्तर र सान्दर्भिकता सुनिश्चित गर्नु पनि हो । कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षामा प्रवेश गर्ने वा श्रम बजारमा जाने युवामा कस्तो व्यावहारिक ज्ञान र सिप छ भन्ने सबैभन्दा महìवपूर्ण बन्न जान्छ । आजको उन्नत सूचना प्रविधि र डिजिटल युगमा हाम्रा पाठ्यक्रम र शिक्षण विधि विद्यार्थीमा विश्लेषणात्मक र सिर्जनात्मक क्षमता विकास गर्ने खालका हुनु पर्छ । केवल घोकन्ते विद्याको भरमा सर्टिफिकेट पाउने तर राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने जनशक्तिले देश विकासमा ठुलो योगदान दिन सक्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)