हर्षोल्लासका साथ मुस्लिम समुदायले मनाए बकर ईद
gorkhapatraonline.com · Thu May 28 06:28:19 GMT 2026

इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद अर्थात् ईद–उल–अजहा सुनसरीका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ ।
जिल्ला सदरमुकाम इनरुवासहित जिल्लाभरका मस्जिद तथा इदगाहमा नमाज पढी एकआपसमा शुभकामना आदानप्रदान गरेर पर्व मनाइएको भोक्राहा नरसिंह गाउँपालिका–८ का अजमल अन्सारीले जानकारी दिनुभयो । उहाँले सुनसरीका मुस्लिम समुदायले इदगाहमा भेला भएर उत्साहका साथ बकर ईद मनाएको बताउनुभयो ।
सुनसरीको इनरुवा, भोक्राहा नरसिंह, कोशी, हरिनगरलगायत जिल्लाभरका मस्जिद तथा इदगाहमा ईदको नमाज पढिएको स्थानीय मोसिम आलमले जानकारी दिनुभयो ।
इस्लामिक पात्रोअनुसार हिजरी संवत्को अन्तिम महिना जिलहिज्जाको १०औँ दिन विश्वभरका मुस्लिम समुदायले पशु कुर्बानी दिएर बकर ईद मनाउने गर्छन् । सोही धार्मिक विधिअनुसार सुनसरीमा पनि रमजान पर्वको करिब ७० दिनपछि बकर ईद मनाइएको हो ।
यस अवसरमा इस्लाम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकको मस्जिद वा इदगाहमा सामूहिक नमाज पढ्न पुगेका थिए । नमाजपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
इस्लाम धर्ममा हज र कुर्बानीलाई विशेष महत्त्व दिइन्छ । बकर ईदको पहिलो दिन मस्जिद तथा इदगाहमा नमाज पढिसकेपछि पशुको कुर्बानी दिने प्रचलन रहेको मुस्लिम धर्मावलम्बीहरूले बताएका छन् । कुर्बानी दिएपछि जन्नत (स्वर्ग) को बाटो खुल्ने धार्मिक विश्वास रहेको मौलाना हारुन खाँले बताउनुभयो ।
मौलानाहरूले कुरआन पाठ गरी विशेष मन्त्रोच्चारण गरेपछि पशु कुर्बानी दिइन्छ । कुर्बानीको मासु आफूमात्र नखाई अरूसँग बाँड्नुपर्ने इस्लाम धर्मको मान्यता रहेको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित मदरसा जामिया जियाउल उलुमका प्रधानाध्यापक मौलाना जमिल फलाहीले बताउनुभयो ।
उहाँका अनुसार कुर्बानीपछिको मासु तीन भागमा विभाजन गरिन्छ । एक भाग आफ्ना लागि, एक भाग इष्टमित्रका लागि र अर्को भाग गरिब तथा विपन्नलाई दिने धार्मिक प्रचलन छ ।
यहाँका मुस्लिम समुदायले प्रायः खसी, बोका, राँगा, भेडा तथा च्याङ्ग्राको कुर्बानी दिने गरेका छन् । आर्थिक हैसियतअनुसार एक वा एकभन्दा बढी चौपाया कुर्बानी दिने गरिन्छ । कुर्बानी दिन नसक्नेहरूलाई अरूले मासु बाँड्ने प्रचलन पनि रहेको फलाहीले बताउनुभयो ।
कुर्बानीका लागि प्रयोग गरिने चौपाया स्वस्थ हुनुपर्ने तथा त्यसको रगत, छाला र केही भित्री भाग खान नहुने धार्मिक मान्यता रहेको छ । छाला मस्जिद, मदरसा तथा इस्लामिक विद्यालयलाई दिने प्रचलन रहेको बताइएको छ ।
नेपालमा गाई राष्ट्रिय जनावर भएकाले मुस्लिम समुदायले गाईको कुर्बानी नगर्ने गरेको उनीहरूको भनाइ छ ।
यो पर्व तीन दिनसम्म विभिन्न व्यक्तिको नाममा कुर्बानी दिँदै मनाइन्छ । सम्पन्न व्यक्तिले तीन दिनसम्म निरन्तर कुर्बानी दिने गरेका छन् भने सामान्य आर्थिक अवस्था भएकाहरूले एक दिनमात्र पर्व मनाउने गर्छन् ।
यस अवसरमा आफन्त तथा छिमेकीकहाँ गई खानपिन गर्ने, मिठा परिकार खुवाउने तथा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ । मुस्लिम समुदायले परम्परागत पोशाक लगाएर मस्जिदमा नमाज पढ्नुका साथै एकआपसमा सद्भाव र शुभेच्छा आदानप्रदान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)