मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबनानमा इजरायली आक्रमणको विरोधमा होर्मुज बन्द गरेको इरानको दाबी

nepalviews.com · Sun Jun 21 02:32:08 GMT 2026

एजेन्सी । गत फेब्रुअरीमा अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले पहिलोपटक होर्मुज (स्ट्रेट अफ होर्मुज) बन्द गरेको थियो। अहिले दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा होर्मुज फेरि बन्द गरिएको इरानी सेनाले जनाएको छ। यद्यपि, अमेरिकी सेनाले भने यो दाबीलाई अस्वीकार गरेको छ। लेबनानमा भएको घातक इजरायली हवाई आक्रमणले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकासँग भएको सम्झौताको उल्लङ्घन भएको इरानले बताएको छ।

अमेरिका-इरान सम्झौतामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने महत्त्वपूर्ण जलमार्ग, होर्मुज पुनः खोल्ने विषय समावेश छ। इरानको भनाइ सार्वजनिक भएपछि अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता टिम हकिन्सले सञ्चारमाध्यमलाई 'आवागमन सुचारु रहेको' र 'अमेरिकी सेनाले अवस्थाको निगरानी गरिरहेको' बताएका छन्। उनले होर्मुजमा इरानको नियन्त्रण नरहेको दाबी गरे।

शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति स्विट्जरल्याण्डतर्फ

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विट्जरल्याण्डमा हुने अमेरिका-इरान प्रत्यक्ष वार्ताका लागि शनिबार वासिङ्टनबाट प्रस्थान गरेका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै 'आणविक मुद्दा' र 'लेबनान युद्धविरामको मुद्दा'मा प्रगति हुने आशा व्यक्त गरे।

इजरायल र हिजबुल्लाहबीचको झडप तथा लेबनानमा इजरायली हवाई आक्रमणबारे सोधिएको प्रश्नमा भान्सले भने, "त्यहाँको अवस्था वास्तवमै सुधार हुँदैछ र झडप केही कम भइरहेको छ।" उनले इजरायल र लेबनान दुवैलाई सुरक्षित राख्न निरन्तर व्यवस्थापन गर्नुपर्ने र सम्पूर्ण क्षेत्रलाई सुरक्षित बनाउनु नै मुख्य लक्ष्य रहेको बताए।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले आफ्नो देशले 'अर्को पक्षलाई आफ्नो प्रतिबद्धता पूरा गर्न माग गर्ने' बताएका छन्। यस वार्ताको सुरुवाती चरणमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उनको कार्यालयले बीबीसीलाई जानकारी दिएको छ। पाकिस्तानले यस युद्धभर मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ र गत अप्रिलमा राजधानी इस्लामाबादमा अमेरिका र इरानबीचको अघिल्लो चरणको वार्ता आयोजना गरेको थियो।

यसै साताको सुरुमा अमेरिकी र इरानी राष्ट्रपतिहरूले लेबनानसहित सम्पूर्ण क्षेत्रमा तत्काल लागू हुने गरी युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए। यसमा आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्न थप वार्ता गर्ने प्रतिबद्धतासमेत समावेश छ।

शनिबार डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै अमेरिका र इरानबीच सहमति नभएमा अमेरिकाले होर्मुजमा आवतजावत गर्ने जहाजहरूमा आफ्नै कर (टोल) लगाउन सक्ने बताएका छन्।

इरानी सेनाले होर्मुज बन्द गर्नुको कारण खुलाउँदै अमेरिकाले १४ बुँदे समझदारी पत्र (एमओयू) को पहिलो बुँदा कार्यान्वयन नगरेर सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ। उक्त बुँदामा 'लेबनानसहित सबै मोर्चाहरूमा तत्काल र स्थायी रूपमा सैन्य कारबाही अन्त्य गर्ने' कुरामा सहमति जनाइएको छ।

बीबीसीको ट्र्याकिङ डेटाअनुसार शनिबार कम्तीमा पाँचवटा ट्याङ्करले होर्मुज पार गरेका थिए भने केही जहाज सोही क्षेत्रबाट फर्किएको देखिएको छ। यद्यपि, अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार सो जलमार्ग हुँदै ५५ वटा व्यापारिक जहाजहरू आवतजावत गरेको र व्यावसायिक आवागमन बढेको बताएको छ।

लेबनानमा तनाव कायमै

इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको घोषणा भएको २४ घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणबाट कम्तीमा २० जना मारिएको खबर आएपछि इरानले होर्मुज बन्द गर्ने घोषणा गरेको हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ मा इजरायल र हिजबुल्लाहबीच द्वन्द्व पुनः सुरु भएयता ४ हजार ५७ जनाको मृत्यु भइसकेको छ। दुवै पक्षले शुक्रबारको युद्धविराम उल्लङ्घन गरेको आरोप एकअर्कालाई लगाएका छन्।

इरान समर्थित समूह हिजबुल्लाहले सो क्षेत्रमा रहेका इजरायली सेनामाथि ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि इजरायली सेनाले शनिबार हिजबुल्लाहका दर्जनौं अखडाहरूमा आक्रमण गरेको बताएको छ। लेबनानी राज्य सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा परि बारिच सहरमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। इजरायली सेनाले शनिबार दक्षिण लेबनानको भिडन्तमा आफ्नो एक सैनिक मारिएको पनि जनाएको छ।

इजरायली अधिकारीहरूले लेबनानबाट आफ्नो सेना फिर्ता बोलाउने कुनै मनसाय नरहेको र हिजबुल्लाहसँगको द्वन्द्व इरानमाथिको युद्धभन्दा फरक रहेको दाबी गर्दै आएका छन्। यता, हिजबुल्लाहले लेबनानमा इजरायली आक्रमण व्यापक अमेरिका-इरान सम्झौतालाई विफल पार्ने प्रयास भएको बताएको छ।

अमेरिकी सरकारले लेबनानमा इजरायलको निरन्तर कारबाहीको आलोचना गर्दै आएको छ। इरानका सर्वोच्च नेताको हत्या गर्ने अमेरिका-इजरायल आक्रमणको बदलामा हिजबुल्लाहले इजरायलमा रकेट प्रहार गरेपछि लेबनान यस युद्धमा तानिएको थियो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले प्रभावकारी रूपमा होर्मुज बन्द गरेको थियो, जसले विश्वव्यापी ऊर्जा बजारमा ठूलो झट्का दिएको थियो।

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) को अनुमानअनुसार सन् २०२५ मा यो मार्ग हुँदै दैनिक करिब २ करोड ब्यारेल तेल र पेट्रोलियम पदार्थ ओसारपसार भएको थियो। यो भनेको वार्षिक करिब ६०० अर्ब डलर (४४७ अर्ब पाउन्ड) बराबरको ऊर्जा व्यापार हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय