मनसुन पूर्वतयारी : बेनीमा सुरक्षा निकायको संयुक्त विपद् प्रतिकार्य अभ्यास
ratopati.com · Thu May 28 07:11:39 GMT 2026

काठमाडौँ । मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको बेनीमा विपद् प्रतिकार्य अभ्यास प्रदर्शन गरिएको छ।
बेनीस्थित म्याग्दी नदीमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विपद्का बेला गरिने उद्धार तथा खोज कार्यको डेमो प्रदर्शन गरेको हो।
मनसुन सुरु हुनुअघि सुरक्षा निकायहरूबीच आपसी समन्वय, पूर्वतयारी र प्रतिकार्य क्षमताको परीक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ। अभ्यासका क्रममा बाढीमा फसेका व्यक्तिहरूलाई डुङ्गाको सहायताले सुरक्षित स्थानमा ल्याउने, डोरीको प्रयोग गरेर उद्धार गर्ने तथा घाइतेहरूलाई प्राथमिक उपचारसहित सुरक्षित स्थानसम्म पुर्याउने जस्ता विभिन्न सीपहरूको अभ्यास गरिएको थियो।
त्यसैगरी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धार टोली कसरी परिचालन हुन्छ भन्ने विषय पनि प्रदर्शनमार्फत देखाइएको थियो। यस कार्यक्रममा आधुनिक उद्धार सामग्री तथा उपकरणहरूको प्रयोग समेत गरिएको थियो।
सुरक्षा निकायका अधिकारीहरूले मनसुनको समयमा नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनीहरूले विपद्का बेला अफवाहको पछि लाग्नुभन्दा आधिकारिक सूचनामा मात्र विश्वास गर्न र आवश्यक परेका खण्डमा तत्काल सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेका छन्।
हरेक वर्ष मनसुनका कारण बाढी, पहिरो र डुबानबाट ठुलो जनधनको क्षति हुने भएकाले पूर्वतयारीस्वरूप गरिने यस्ता अभ्यासलाई निकै प्रभावकारी मानिन्छ। स्थानीयवासी तथा सरोकारवाला निकायहरूको उपस्थितिमा गरिएको उक्त प्रदर्शनले विपद् व्यवस्थापनमा सुरक्षा निकायको तयारी र क्षमतालाई प्रस्तुत गरेको थियो।
तस्बिर : शिव बोहोरा/ नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)