मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुहबीको बजेट ९७ करोड ६६ लाख

gorkhapatraonline.com · Sun Jun 21 02:44:43 GMT 2026

सुनसरीको दुहबी नगरपालिकाको १९ औँ नगर सभाबाट ९७ करोड ६६ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । दुहबीमा सुरु भएको नगर सभामा आर्थिक वर्ष २०८३/८४ को बजेट, नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै उपप्रमुख मेनुका पोखरेल खतिवडाले कुल ९७ करोड ६६ लाख रुपियाँ बजेटसहितको नीति तथा कार्यव्रmम सार्वजनिक गर्नुभएको हो । नगर सभामा असार १० गतेभित्र बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

गत आवको भुक्तानी गर्न बाँकी दायित्व करिब १६ करोड रहेको छ । यो बजेट गत वर्षको भन्दा करिब चार करोड रुपियाँ बढी हो । आव २०८२/८३ मा दुहबी नगरपालिकाले ९३ करोड ६५ लाख रुपियाँ बजेट सार्वजनिक गरेको थियो । चालुतर्फ २४ करोड ७० लाख, पुँजिगततर्फ ४२ करोड ६६ लाख, सङ्घीय ससर्त २९ करोड १८ लाख, प्रदेश ससर्त एक करोड १२ लाख रहेको छ भने आन्तरिक स्रोत सङ्कलन लक्ष्य १४ करोड रुपियाँ रहेको छ । सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख वेदनारायण गच्छदारले आफ्नो १० बर्से कार्यकाल सकिन लाग्दाको सम्भवतः अन्तिम नगर सभासमेत भएको भन्दै आफ्नो योग्यता, क्षमता, सव्रिmयता र अनुभवको भरपूर उपयोग गरी सेवा गरेको बताउनुभयो ।

उहाँले नगरको सीमित स्रोतसाधनको बाबजुदसमेत जनताका असीमित आवश्यकता र माग पूरा गर्ने कोसिस गरेको तथापि जनताको आवश्यता पूरा गर्न नसक्दा आलोचना भोग्नु परेको बताउनुभयो । उहाँले आफूले भौतिक पूर्वाधार र नागरिकको आय आम्दानीको रोडम्याप बनाइसकेको हुँदा बाँकी आवश्यकता अर्को मेयरले रोड मात्रै बनाए पुग्ने भन्दै जनप्रतिनिधिलाई निराश नहुन आग्रह गर्नुभयो ।

दुहबी नगरप्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा सुरु भएको नगर सभामा आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम दुहबी नगर उपप्रमुख मेनुका खतिवडाले प्रस्तुत गर्नुभएको थियो । बन्द सत्र बैठकमा छलफल गरी बजेटलाई विषयगत शीर्षक अनुसार दफाबार छलफल गरी नगर सभाले सर्वसम्मत पारित गर्ने दुहबी नगरपालिकाका प्रवक्ता विजय चौधरीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)