सुपर तमोर रु. २५ अर्ब लगानीमा बन्ने, १९ अर्ब ऋण लगानी सुनिश्चित, कुन बैंकको कति ?
corporatenepal.com · Thu May 28 07:45:19 GMT 2026

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
आयोजना प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट र विभिन्न वाणिज्य बैंकबीच ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएपछि निर्माण चरणलाई थप तीव्रता दिने अवस्थामा कम्पनी पुगेको हो ।
Advertisement
आयोजनाको कुल अनुमानित लागत करिब २५ अर्ब ४० करोड रुपियाँ रहेको छ । उक्त लागतमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमार्फत लगानी जुटाइने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा करिब १९ अर्ब रुपियाँ बराबरको ऋण लगानी सुनिश्चित भएको छ । ऋण व्यवस्थापनको नेतृत्व ग्लोबल आइएमई बैंकले गरेको छ भने सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा रहेका छन् ।
साथै कृषि विकास बैंक र नेपाल एसबिआई बैंक पनि परियोजनामा लगानी गर्ने भएका छन् । लगानी संरचनाअनुसार ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान यस आयोजनामा ४–४ अर्ब रुपियाँ लगानी गर्नेछन् । प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपियाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपियाँ लगानी गर्ने सहमति भएको छ ।
आयोजना २५.५ घनमिटर प्रतिसेकेन्ड पानी प्रवाह उपयोग गर्ने गरी डिजाइन गरिएको छ । यसको हेड ७६२ मिटर रहनेछ । वार्षिक विद्युत् उत्पादन क्षमता ९८३.१३ गिगावाट घण्टा अनुमान गरिएको छ, जसमा करिब ३०.८५ प्रतिशत उत्पादन सुख्खायाममा र ६९.१५ प्रतिशत वर्षायाममा हुने जनाइएको छ ।
विद्युत् बिक्रीबाट पहिलो वर्षमै करिब ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । विद्युत् खरिद–बिक्री सम्झौताअनुसार पहिलो आठ वर्षसम्म वार्षिक ३ प्रतिशत मूल्य समायोजनको व्यवस्था पनि रहनेछ । आयोजनाअन्तर्गत ५० मिटर लामो बाँध, करिब ६ किलोमिटर सुरुङ र विद्युत्गृह निर्माण गरिनेछ। उत्पादित विद्युत् ८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
हाल आयोजनास्थलमा पहुँच सडक, कार्यालय भवन, कामदार आवास, सामग्री भण्डारण गृह तथा सुरक्षा संरचना निर्माणका प्रारम्भिक कामहरू अघि बढिरहेका छन् । कम्पनीले आयोजनामा स्थानीय बासिन्दाको सहभागिता र जलविद्युत् क्षेत्रमा अनुभवी लगानीकर्ताको संलग्नता रहने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)