मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रुपन्देही क्रिकेट संघको पदस्थापन, शक्ति गौचनलाई सम्मान

nepalpress.com · Sun Jun 21 04:01:04 GMT 2026

रुपन्देही । रूपन्देही क्रिकेट संघका नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन भएको छ । भैरहवामा आयोजित समारोहमा पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको हो ।

रुपन्देही क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनलाई सम्मान गरेको थियो । रूपन्देही क्रिकेट संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा हरिबहादुर थापा लगायत १५ सदस्यीय कार्यसमिति निर्वाचित भएका थिए । संघको पाँचौं अधिवेशनका मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीले निर्बाचित समितिलाई सपथ खुवाएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटन र खेलकुद एकअर्काको परिपूरक भएकाले खेलकुदको माध्यमबाट नेपालमा पर्यटनको विकास गर्न सकिने बताए । मन्त्री पाण्डेयले जति धेरै खेलकुदका गतिबिधि बढायो उति नै पर्यटक भित्रिने भएकाले विभिन्न खेलका प्रतियोगितालाई बढाउनु पर्ने आवश्यकता रहेको बताए ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट खेल मैदानलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन र क्रिकेट क्षेत्रको विकासका लागि आफूले प्रशस्त बजेट बिनियोजन गरेको उनले बताए । समग्र रुपमा रुपन्देहीको क्रिकेट विकासका लागि १ करोड २४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी उनले दिए । मन्त्री पाण्डेयका अनुसार, रुपन्देहीमा महिला क्रिकेटको विकास, क्रिकेट खेल मैदानको स्तरोन्नती, बुद्ध इण्डो–नेपाल क्रिकेट प्रतियोगिता लगायतका क्रिकेट गतिबिधि सञ्चालनका लागि रुपन्देही क्रिकेट संघको माग अनुरुप उक्त बजेट बिनियोजन गरिएको हो ।

रुपन्देही क्रिकेट संघका नवनिर्वाचित अध्यक्ष हरिबहादुर थापाले संघलाई अझ पारदर्शी, जिम्मेवार र जवाफदेही बनाइने प्रतिबद्धता व्यक्त गरे । ‘विभिन्न क्रिकेट संघ र एकेडेमी बिच आपसी समन्वय र सहकार्य गरेर रुपन्देही क्रिकेट संघ अगाडि बढ्ने छ,’ थापाले भने, ‘रुपन्देही क्रिकेट संघलाई सवैको साथ र सहयोग प्राप्त हुने अपेक्षा राखेको छु ।’

अवको आफ्नो कार्यकालमा महिला क्रिकेटको विकासका लागि विभिन्न प्रतियोगिता र कार्यक्रम सञ्चालन गर्ने र सवै क्रिकेट खेलाडीको विवरण सहितको तथ्याङ्क तयार पारिने लगायतका योजना उनले सुनाए । सिद्धार्थनगरका नगर प्रमुख तथा संविधान सभा सदस्य इश्तियाक अहमख खाँनले भैरहवास्थित सिद्धार्थ क्रिकेट खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन जरुरी रहेको र यसकालागि केन्द्र सरकारले पनि पर्याप्त बजेट उपलब्ध गराउन माग गरे ।

‘सिद्धार्थ क्रिकेट मैदान भारतको सिमाना नजिक रहेकाले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सहज अवसर दिएको छ’, खाँले भने, ‘यस खेल मैदानमा भारत–पाकिस्तान बिचको प्रतियोगिता सञ्चालन गर्न सकिने संभावनापनि उत्तिकै छ ।’

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष विनय राज राभण्डारी, सिद्धार्थनगरकी उपप्रमुख तथा रुपन्देही क्रिकेट संघकी सदस्य उमा अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, होटल एशोसियन अफ नेपालका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, संघका सल्लाहकार देवराज न्यौपाने लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय