मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसरी बन्छ रास्वपाको केन्द्रीय समिति

shilapatra.com · Sun Jun 21 04:09:00 GMT 2026

चितवनमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे पहिलो महाधिवेशनले कुल १ सय ५८ जना सदस्य केन्द्रीय समितिमा चयन गर्नेछ । पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले महाधिवशेनको निर्वाचन तालिका सार्वजनिक गरिसकेका छन् ।

महाधिवेशनबाट पहिलो चरणमा सभापतिसहित १ सय जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । रास्वपाले सभापतिलाई ५० जना केन्द्रीय सदस्य चुन्न पाउने अधिकार दिएको छ । यो अधिकार विधानको परिमार्जित व्यवस्थाले गरेको छ ।

यसअघि सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वले गरेको विधान संशोधनमा सभापतिको अधिकार बढाइएको हो । रास्वपामा पदाधिकारी बन्न अनिवार्य केन्द्रीय सदस्य हुनैपर्छ ।

सभापतिसहित पहिलो चरणमा १ सय जना केन्द्रीय सदस्य बनेपछि सभापतिले थप ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् । यसरी मनोनीत गर्दा संस्थापक जति सबैलाई ल्याउने शनिबारको केन्द्रीय समिति बैठकबाट तय भइसकेको छ । त्यो बाहेक समायोजन प्रक्रियाअन्तर्गत विभिन्न राजनीतिक दल, व्यक्ति वा समूहबाट आएकालाई मनोनीत गरिनेछ । यसरी जम्मा १ सय ५० जना सदस्य चुनिनेछन् । तर, केन्द्रीय समितिमा यसअघि नै प्रदेश सभापति चयन भइसकेका छन् ।

उनीहरूको हैसियत केन्द्रीय सदस्य सरहको हुनेछन् । अर्थात्, रास्वपाको केन्द्रीय समिति प्रदेश सभापतिसहित १ सय ५८ जनाको हुनेछ । पदाधिकारीमा सभापति स्वयमले १९ मध्ये ११ पदाधिकारी चुन्ने व्यवस्था गरिएको छ ।

पार्टी समायोजन प्रक्रियाको मर्मलाई आत्मसाथ गर्न भन्दै यति धेरै पदाधिकारी मनोनीत गरेर राख्न खोजिएको हो । रास्वपाको ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन सकेसम्म विवादरहित बनाउने र एकताको सन्देश दिने गरी प्रायः सबै पदमा निर्विराेध चयन गर्ने प्रयास भएको देखिन्छ ।

सोअनुसार संस्थापक सभापति रवि लामिछाने सभापति र वरिष्ठ नेता वालेन्द्र शाह सोही ठाउँमा दोहोरिने छन् । बाँकी पदमा पनि रवि–बालेनको सहमतिमै मनोनीत गर्ने नेताहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३

०९:५४

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय