मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबनानमा युद्धविरामकै बेला इजरायली आक्रमण : ३२ जनाको मृत्यु, अमेरिका–इरान वार्ता संकटमा

annapurnapost.com · Sun Jun 21 04:55:18 GMT 2026

इजरायल : युद्धविराम लागु भइरहेका बेला इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यस घटनाले अमेरिका र इरानबीच चलिरहेको शान्ति प्रक्रियासम्बन्धी वार्ता नै प्रभावित हुने खतरा बढेको छ । इरान र अमेरिकाबीच हालै हस्ताक्षर गरिएको सम्झौतासम्बन्धी पछिल्लो चरणको वार्ता आइतबार स्विट्जरल्यान्डको बुर्गेनस्टकमा हुने पाकिस्तानको विदेश मन्त्रालयले शनिबार जनाएको छ । उक्त वार्तामा अमेरिका र इरानका प्रतिनिधिहरूसँगै पाकिस्तान र कतारका मध्यस्थकर्ताहरू पनि सहभागी हुनेछन् ।

युद्धविराम भए पनि इजरायलले दक्षिणी लेबनानमा जारी राखेको हवाई आक्रमण र ड्रोन हमला रोकिएको छैन । जसले अमेरिका–इरान वार्ता जटिल बनाएको छ । इरानले लेबनानमा युद्धविरामलाई कूटनीतिक प्रक्रियाको महत्वपूर्ण हिस्सा मान्दै, यसले अमेरिका–इरान वार्तालाई ‘निर्णायक’ बनाउन सक्ने बताएको छ । शनिबार मात्रै नाबातियेह जिल्लामा भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु र १२ जना घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायले जनाएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार कफर रेमान गाउँमा भएको आक्रमणमा एकै परिवारका चार जना बुबा, आमा र दुई बच्चाको मृत्यु भएको छ । सोही क्रममा पश्चिमी बेका क्षेत्रमा रहेको सोहमोरमा घरभित्रै परिवार रहेको अवस्थामा भएको आक्रमणमा थप चार जनाको मृत्यु भएको बताइएको छ । सिडोन जिल्लाको कनारितमा भएको अर्को आक्रमणमा ७ जनाको मृत्यु र १३ जना घाइते भएका छन्, लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि भएका इजरायली आक्रमणमा ८३ जनाको मृत्यु र १४१ जना घाइते भएका छन्, जसमध्ये धेरैजसो दक्षिणी क्षेत्रमा छन् ।

युद्धविरामको कमजोर अवस्था

दक्षिणी लेबनानमा मध्यरातदेखि १०० भन्दा बढी इजरायली हवाई आक्रमण भएको जनाइएको छ । हमलामा सर्वसाधारणसहित सेना पनि मारिएका छन्, जसले अवस्था झन् तनावपूर्ण बनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ पछि इजरायली आक्रमणमा हालसम्म कम्तीमा ४,०५७ जनाको मृत्यु र १२,१२१ जना घाइते भएका छन् ।

हिज्बुल्लाहले भने दक्षिणी लेबनानमा इजरायली सेनामाथि ५० भन्दा बढी प्रक्षेपण (रकेट) आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाले भने हिज्बुल्लाहले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै प्रतिक्रिया दिएको छ । यसैबीच इजरायली सेनाले थप एक सैनिकको मृत्यु भएको पुष्टि गरेको छ, जससँगै हालैको सम्झौतापछि पाँच जना सैनिक मारिएका छन् ।

के होला आगामी वार्ता ?

सन् २०२४ नोभेम्बरमा इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भए पनि त्यसयता तनाव कायमै छ । अमेरिकी विदेश विभागका अनुसार जुन २३ र २५ मा वासिङ्टन डीसीमा लेबनान र इजरायलबीच नयाँ वार्ता हुनेछ, जसको उद्देश्य दीर्घकालीन शान्ति स्थापना गर्नु हो । तर हिज्बुल्लाहलाई वार्तामा सहभागी नगराइएकाले ठोस प्रगति हुने सम्भावना कमजोर देखिन्छ । हिज्बुल्लाहका प्रतिनिधि अली फय्यादले भने इजरायली सेना लेबनानबाट पूर्ण रूपमा नहटेसम्म युद्धविराम सम्भव नभएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)