विज्ञहरूको भन्छन् - बजेट कार्यान्वयन र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय आवश्यक
arthadabali.com · Sun Jun 21 05:07:00 GMT 2026

काठमाडौँ / नेपाल जन-प्रशासन सङ्घ (PAAN) द्वारा आयोजित ‘PAAN Policy Dialogue’ अन्तर्गत “बजेट कार्यान्वयन र मौद्रिक नीति” विषयक उच्चस्तरीय नीति संवाद कार्यक्रममा विज्ञ, पूर्व प्रशासक, अर्थविद् तथा निजी क्षेत्रका प्रतिनिधिहरूले बजेट कार्यान्वयन र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले आर्थिक सुधार, उत्पादन वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै बजेट र मौद्रिक नीतिबीच सन्तुलित समन्वय हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
ललितपुरको पुल्चोकस्थित संस्कार फाइन डाइनमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पर्याप्त तरलता भए पनि निजी क्षेत्रमा कर्जा विस्तार कमजोर रहेको उल्लेख गर्दै मौद्रिक नीतिको प्रसारण संयन्त्र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनको भनाइमा टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नवप्रवर्तनशील र वृद्धिमुखी मौद्रिक नीतिको आवश्यकता रहेको बताए ।
पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बजेटको आकारभन्दा यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुने उल्लेख गर्दै मौद्रिक नीतिले बजेट कार्यान्वयनलाई सहयोग गर्नुपर्ने धारणा राखे ।
वरिष्ठ अर्थविश्लेषक डा. रेवतबहादुर कार्कीले वित्तीय क्षेत्र सुधारका सकारात्मक परिणाम देखिन थालेको उल्लेख गर्दै निजी क्षेत्रको विश्वास पुनःस्थापना र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताए ।
पूर्व सचिव दुर्गा भट्टराईले एलडीसी स्तरोन्नतिलाई अवसरका रूपमा उपयोग गर्दै प्रतिस्पर्धात्मकता र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी त्रिभुवन श्रेष्ठले मुद्रास्फीति र बजार असन्तुलनबारे चर्चा गर्दै माग–आपूर्ति व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले बजेट कार्यान्वयनका लागि कानुनी सुनिश्चितता, नीतिगत स्थिरता र राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको बताए
पूर्व सचिव कृष्ण ज्ञवालीले नेतृत्व तहको प्रतिबद्धता र संस्थागत समन्वय बिना प्रभावकारी कार्यान्वयन सम्भव नहुने धारणा राखे ।
पूर्व सचिव कैलाश पोखरेलले प्रमाणमा आधारित निर्णय प्रणाली र कर्मचारी क्षमता अभिवृद्धि आवश्यक रहेको बताए ।
पूर्व अर्थसचिव मधु मरासिनीले अर्थतन्त्रप्रति अत्यधिक निराशावादी दृष्टिकोण गलत हुने उल्लेख गर्दै नीतिगत निरन्तरता र विस्तारमुखी मौद्रिक नीति आवश्यक रहेको बताए ।
नेपाल सरकारका पूर्व सचिव डा. तोया ज्ञवालीले मानव पूँजी र मानव विकासलाई विकास नीतिसँग जोड्नुपर्ने धारणा व्यक्त गरे ।
उद्योग परिसंघ नेपाल (CNI) का प्रतिनिधि सुदर्शन नेपालले आधारदर प्रणाली पुनरावलोकन गरी उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
त्यस्तै NASC का वरिष्ठ निर्देशक राजेन्द्र अधिकारीले कार्यान्वयन तहको क्षमता अभिवृद्धि, नेतृत्व विकास र अन्तरनिकाय समन्वय सुदृढ गर्नुपर्ने बताए ।
नेपाल जन-प्रशासन सङ्घका महासचिव डा. दिलीप राज पौडेलले बजेट कार्यान्वयनको समीक्षा तथा आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन कार्यक्रमको उद्देश्य रहेको बताए ।
कार्यक्रमका अध्यक्ष मधुरमण आचार्यले छलफलबाट प्राप्त सुझावहरूलाई नीति सिफारिसका रूपमा सम्बन्धित निकायसमक्ष प्रस्तुत गरिने जानकारी दिए ।
कार्यक्रममा वक्ताहरूले बजेटको आकारभन्दा कार्यान्वयन, उत्पादनशील लगानी, निजी क्षेत्रको विश्वास, तथा मौद्रिक–वित्तीय नीतिबीच समन्वयलाई नेपालको आर्थिक सुधारको प्रमुख आधारका रूपमा औँल्याएका थिए ।
सम्बन्धित विषय:
# बजेट
# मौद्रिक नीति
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
विश्वनाथ पौडेल
बैकुण्ठ अर्याल