मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा बसपार्कमा डोजरको एक्सन !३२० सटर एकैदिन हटाइयो, अतिक्रमणमाथि महानगरको ठूलो कदम

barnanmedia.com · Sun Jun 21 05:39:38 GMT 2026

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण गरिएको बास्तोला कम्प्लेक्सका ३२० सटरसहितका संरचना डोजर लगाएर हटाएको छ।

लामो समयदेखि विवादमा रहेको बसपार्कको जग्गा खाली गराउने अभियानअन्तर्गत महानगरले व्यवसायी र जग्गाधनीसँगको सहमतिपछि शनिबार संरचना हटाएको हो। महानगर प्रमुख धनराज आचार्यका अनुसार बसपार्क निर्माणलाई गति दिन सबै पक्षसँगको समझदारीमा कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो।

महानगरले यसअघि पनि बसपार्क प्रवेशद्वार क्षेत्रका संरचनामा डोजर चलाइसकेको थियो। पछिल्लो कारबाहीसँगै पोखराको बहुचर्चित बसपार्क परियोजनाले नयाँ मोड लिएको छ।

यसबीच खाली गरिएको जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य बाहिरिएपछि जग्गा सट्टाभर्ना र घडेरी वितरणसम्बन्धी निर्णयमाथि छानबिन तीव्र पारिएको छ। महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

उता बसपार्क क्षेत्रमा रहेका ५७२ सुकुम्बासी परिवारमध्ये ३३७ परिवारको कागजात प्रमाणीकरण भइसकेको छ। केहीले गलत विवरण दिएको आशंकाका कारण छानबिन लम्बिएको महानगरको भनाइ छ।

पोखरा बसपार्क निर्माणको बहुप्रतीक्षित योजनालाई अगाडि बढाउन महानगरले थालेको यो कदम अहिले शहरभरि चर्चाको विषय बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)