मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप : ट्युनिसियाविरुद्ध जापानको फराकिलो जित

neplays.com · Sun Jun 21 06:31:00 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत जापानले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

समूह ‘एफ’ अन्तर्गत भएको खेलमा जापानले ट्युनिसियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापानले दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा आफ्नो पहिलो जित हासिल गरेको हो ।

यस जितसँगै जापानले दुई खेलबाट चार अंक बनाएको छ र अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

जापानले खेलको सुरुवातदेखि नै ट्युनिसियामाथि दबाब बनाएको थियो । खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

सुरुवाती गोलपछि थप आक्रामक बनेको जापानका लागि अयासे उएडाले ३१औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा पनि जापानले आफ्नो दबाब कायम राख्यो।

६९औँ मिनेटमा जुन्या इटोले गोल गर्दै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्‍याए । त्यसपछि अयासे उएडाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानको जितलाई ४–० मा पुर्‍याए ।

खेलभर ट्युनिसिया जापानको आक्रमणसामु निरीह देखियो । आक्रमण र रक्षादुवैमा कमजोर प्रदर्शन गरेको ट्युनिसियाले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि ट्युनिसिया पहिलो खेलमा स्विडेनसँग ५–१ ले पराजित भएको थियो ।

यस नतिजासँगै जापान समूह ‘एफ’ बाट नकआउट चरण नजिक पुगेको छ भने लगातार दुई हारसँगै ट्युनिसियाको अर्को चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ ।

अब जापानले आफ्नो अन्तिम समूह खेलमा स्विडेनको सामना गर्नेछ भने ट्युनिसियाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय