आसियान मुख्यालयमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
lokaantar.com

इन्डोनेसियाको जकार्तास्थित आसियान मुख्यालय तथा आसियान सचिवालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
आसियानस्थित भारतको स्थायी नियोगको पहलमा भएको कार्यक्रममा आसियानका लागि भारतका राजदूत श्रीनिवास गोत्रु, आसियानका स्थायी प्रतिनिधि समितिका सदस्य एवं प्रतिनिधि, जकार्तास्थित कूटनीतिक नियोगका सदस्य, आसियान सचिवालयका कर्मचारी तथा भारतीयय नियोगका प्रतिनिधिहरू सहभागी भएका थिए ।
आसियान महासचिव डा. काओ किम होर्नको तर्फबाट आसियान सामाजिक–सांस्कृतिक समुदायका उपमहासचिव सान ल्विन कार्यक्रममा सहभागी भएका थिए ।
उनले योग दिवसको आयोजनाले आसियान–भारत व्यापक रणनीतिक साझेदारीअन्तर्गत दुवै पक्षबीचको सुदृढ र दीर्घकालीन सम्बन्धलाई थप मजबुत बनाएको बताए ।
उनले आसियान सदस्य राष्ट्रहरूमा योगको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै यसले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन तथा भावनात्मक सुदृढीकरणमा सकारात्मक योगदान पुर्याएको बताए ।
योगले स्वस्थ, दिगो र उत्पादनशील समुदाय निर्माण गर्ने आसियानको प्रयासलाई सहयोग पुर्याउनुका साथै शारीरिक गतिविधिमार्फत् नसर्ने रोगहरूको रोकथाम तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लक्ष्यलाई पनि समर्थन गर्ने उनको भनाइ थियो ।
आसियान मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको यो लगातार चौथो वर्ष हो । सन् २०२३ देखि शुरू भएको यो कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ ।
कार्यक्रमअन्तर्गत सहभागीहरूका लागि निर्देशित योग अभ्यास सत्र सञ्चालन गरिएको थियो । योग सत्रमार्फत स्वास्थ्य, सचेतना, मित्रता तथा आपसी समझदारी प्रवर्द्धन गर्दै आसियान–भारत एकताको भावना अभिवृद्धि गरिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)