मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फोटो काण्डले ट्रम्प र मेलोनीबीच गम्भीर फाटो, अमेरिकासँग युरोपका देशहरू चिढिँदै

nepalpress.com · Sun Jun 21 07:45:59 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको सार्वजनिक विवादलाई थप चर्काउँदै जी-७ शिखर सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिच्न बिन्ती गरेको दाबी पुनः दोहोर्‍याएका छन्।

सीएनएनका अनुसार, ट्रम्पले आफ्नो अभिव्यक्तिबाट पछि हट्न अस्वीकार गर्दै मेलोनी नै फोटो खिचाउन इच्छुक रहेको र आफूले उनको आग्रह स्वीकार गरेको बताएका छन्।

यो विवाद फ्रान्समा सम्पन्न जी-७ शिखर सम्मेलनपछि सुरु भएको हो । इटालीको टेलिभिजन च्यानल ला-७सँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीले आफूलाई फोटोका लागि ‘बिन्ती’ गरेको बताएका थिए।

ट्रम्पले भनेका थिए, “उनले मसँग फोटो खिच्न निकै चाहन्थिन्। म फोटो खिच्न तयार थिइनँ, तर मलाई उनको दया लाग्यो, त्यसैले स्वीकार गरेँ।”

तर इटालीकी प्रधानमन्त्री मेलोनीले ट्रम्पको दाबीलाई तत्काल अस्वीकार गर्दै यसलाई ‘पूर्ण रूपमा मनगढन्ते’ भनेकी छन्।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियो सन्देशमा मेलोनीले भनेकी छन्, “डोनाल्ड ट्रम्पका भनाइ पूर्ण रूपमा बनावटी छन्। म वास्तवमै स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना निकट सहयोगी राष्ट्रहरूसँग किन यस्तो व्यवहार गर्छन् भन्ने बुझ्न कठिन छ।”

उनले ट्रम्पमाथि पश्चिमी मुलुकका प्रतिद्वन्द्वीहरूप्रति देखाउने नरम व्यवहारको समेत आलोचना गरिन्।

यसबीच इटालीका विदेशमन्त्री एन्टोनियो ताजानी ले अमेरिकाको तय भएको भ्रमण रद्द गरेका छन्। उनी अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ता गर्न अमेरिका जाने कार्यक्रम थियो।

ताजानीले ट्रम्पको अभिव्यक्तिलाई ‘अपमानजनक’ भन्दै त्यसको विरोधस्वरूप भ्रमण स्थगित गरेको बताएका छन्।

सीएनएनका अनुसार, पछिल्लो घटनाले अमेरिका र उसका युरोपेली सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा पुनः तनाव थपिएको छ। फ्रान्समा सम्पन्न जी–७ सम्मेलनपछि सम्बन्ध सुधार हुने संकेत देखिए पनि ट्रम्प र मेलोनीबीचको सार्वजनिक आरोप–प्रत्यारोपले त्यो प्रयासलाई कमजोर बनाएको विश्लेषण गरिएको छ।

ट्रम्पले पछिल्ला दिनहरूमा आफ्ना युरोपेली साझेदारहरूप्रति सार्वजनिक रूपमा आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन्, जसले ट्रान्स–एटलान्टिक सम्बन्धमा नयाँ चुनौती थपिएको कूटनीतिक वृत्तले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)