उत्खननमा प्रयोग भएका टिप्पर–एक्साभेटर जिससले पक्रिने, प्रहरीले छोड्ने
annapurnapost.com · Sun Jun 21 07:58:14 GMT 2026

जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिका–८ स्थित सोनीखोला क्षेत्र नं. १ स्थित भइरहेको नदीजन्य पदार्थको अवैद्य उत्खनन् क्रममा पक्राउ परेका उपकरण प्रहरीले विना कारवाही छोडेको रहस्य खुलेको छ । जिसस महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णको संयोजकत्वमा विहीबार गौशाला–८ स्थित सोनीखोलामा नदीजन्य निर्माण सामग्री उत्खननको क्रममा भेट्टिएको १० उत्खनन सामग्री पक्राउ गरेको प्रहरीलाई बुझाएको घण्टा नबित्दै छोडेको पाइएको छ ।
एकै समयमा ३ (तीन) वटा एक्साभेटर प्रयोग गरी नदीजन्य निर्माण सामग्री उत्खनन भइरहेको अवस्थामा फेला परेको ७ वटा ट्रिपर र ३ वटा एक्साभेटर कारवाही बिनै छाडिएको पाइएको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोले जानकारी दिइन् । उपप्रमुख महतोका अनुसार उत्खनन गरिएको क्षेत्रको अवलोकन गर्दा औसत रुपमा करिव १.५० मिटर गहिराइसम्म उत्खनन गरिएको देखिएको र अनिल कन्स्ट्रक्सनद्वारा सञ्चालित उत्खनन कार्यमा त्रुटि देखिएकोमा पक्राउ गरी प्रहरीमा बुझाएको उपकरण जिसस र नपाको समन्वयन बिनै प्रहरीले छोड्नु शंकास्पद विषयको भएको आशंका गरिन् ।
उनले भनिन, ‘उत्खनन कार्यमा प्रयोग भएका एक्साभेटर तथा टिप्परहरुको खोला प्रवेश अनुमति सम्बन्धित स्थलमा उपलब्ध नरहेको तथा माग गर्दा समेत पेश गर्न नसकेको अवस्थामा पक्राउ गरिएको ट्रिफर र एक्साभेटर कसरी छोडियो हामी तीन छक्क परेका छौं । जिल्ला समन्वयन समिति, नगरपालिकाको विना कुनै समन्वयन कसरी छोडियो, कतै आर्थिक प्रलोभनको विषय त होइन भनि आशंका उत्पन्न भएको छ ।’
जिल्ला समन्वयन समिति महोत्तरीले अवैद्य उत्खनन्मा पक्राउ परेको ट्रिपर र एक्साभेटर तथा कारवाहीको अनुगमन प्रतिवेदन बनाउन नपाउँदै ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख रमेश लामा र ठेकेदारको मिलोमत्तोमा छोडेको जिल्ला समन्वयन समितिका सुमनलाल कर्णको बुझाई छ । उनले भने, ‘जिल्ला समन्वय समितिले गरेको स्थलगत अनुगमनपछि स्थानीय तहका प्रतिनिधिहरुकै उपस्थितिमा वातावरणीय मापदण्ड उल्लंघन गर्दै उत्खनन गरिएको निष्कर्ष निकालिएको थियो । यद्यपि ठेक्का सम्झौताअनुसार काम भइरहेको भनिए पनि ठेकेदार र स्थानीय तहका केही जनप्रतिनिधिबीच मिलेमतो भएर मापदण्ड विपरित खोला उत्खनन् भईरहेको भए पनि प्रहरी प्रशासनको मिलोमत्तोमा ठेकेदारले मनपरी उत्खनन गरिरहेको छ ।’
गौशाला नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) सम्पन्न गरी २०८२ माघ २९ गते सोनी र मरहा खोलाबाट नदीजन्य पदार्थ संकलनका लागि ७५ हजार ७८४ घनमिटर सामग्री उत्खनन गर्ने गरी मूल्य अभिवृद्धि कर बाहेक १ करोड ५१ लाख ५६ हजार ८६० रुपैयाँको ठेक्का लगाएको छ । नगरपालिकाले खोलालाई तीन उत्खनन क्षेत्रमा विभाजन गरेको थियो । बर्लेनी–कुस्मारी नाका, बाडुले–सोनी दोभान नाका तथा बयलबास–फायरलाइन नाकालाई क्रमशः उत्खनन क्षेत्र नं. १, २ र ३ तोकिएको थियो ।
अनुगमनको क्रममा पक्राउ परेका परेका टिप्पर प्रदेश–०२–०२–००१–क–०३९२, प्रदेश–०२–०३–००१–क–०५९२, टिप्पर प्रदेश–०२–०२–००१–क–०३९३, टिप्पर प्रदेश–०२–०३–००१–क–९५८६, टिप्पर प्रदेश–०२–०३–००१–क–०५८२, टिप्पर म.प्र.–०२–००१–क–०८८३, टिप्पर म.प्र.–०२–००१–क–०८८२ र एक्साभेटर वा–३–क–१११६, एक्साभेटर ना–१–क–९७३५, एक्साभेटर ना–२–क–२० पक्राउ परेको केही घण्टा नवित्दै विना कारवाही छोडिएपछि ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश लामा, ठेकेदार र जनप्रतिनिधिको मिलोमत्तोको आशंका व्यक्त गर्न थालिएको छ ।
जिल्ला समन्वयन अधिकारी रामप्रसाद लुइटेलले खोला उत्खनन कार्य नियमअनुसार भएको भए कोही भाग्नुपर्ने अवस्था आउने थिएन । उनले भने,’ ‘हामीले अनुगमन गरिसक्दा मेयरसाप आउनु भयो र अनुगमन टोलीसँग असन्तुष्टि पोखेर फर्किनु भयो ।’ नगरपालिकाले उत्खननका लागि तोकेका शर्तअनुसार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम गर्नुपर्ने, क्षेत्र स्पष्ट रुपमा रेखांकन गरिएको हुनुपर्ने तथा आईईई प्रतिवेदनले तोकेको तीन फिटभन्दा बढी गहिराइमा उत्खनन गर्न नपाइने व्यवस्था भए पनि अनुगमनको क्रममा करिब ६ फिटसम्म गहिरो खाल्डा खनिएको उल्लेख छ ।
प्रतिवेदनमा अवैद्य उत्खनन् भईरहेको जिकिर गरिँदै भनिएको छ, ‘उत्खननबाट संकलन तथा ढुवानी गरिएको निर्माण सामग्रीको घाटगद्दी रसिद तथा अन्य आवश्यक कागजातहरु उपलब्ध गराउन सकिएको थिएन । अनुगमन टोली उत्खननस्थलमा पुग्ने बित्तिकै नगरपालिकाबाट खटाइएका कर्मचारी, सवारी चालक तथा ठेकेदार पक्षका प्रतिनिधिहरु हतार–हतार भागदौड गरी स्थलबाट निस्किएको पाइयो । जसले अनुगमन कार्यमा आवश्यक सहयोग नगरेको तथा गतिविधि शंकास्पद देखिएको छ ।’
अनुगमनका क्रममा उत्खनन क्षेत्रको सीमाङ्कन तथा सूचना पाटी नराखिएको, दैनिक उत्खनन, विक्री तथा ढुवानी अभिलेख नराखिएको प्रतिवेदनमा उल्लेख छ । साथै घाटगद्दी गरिएको सामग्रीको अभिलेख तथा प्रमाणित रसिद उपलब्ध नभएको, स्थानीय समुदायको सहभागिता नरहेको, एक क्षेत्रबाट एकवटा मात्र एक्साभेटर प्रयोग गर्नुपर्ने व्यवस्थाको विपरीत एकै समयमा तीनवटा एक्साभेटर प्रयोग गरिएको भेट्टिएको गौशाला नगरपालिकाका उपप्रमुख रेणुकुमारी महतोले बताइन् ।
उत्खनन स्वीकृत ०.८५ मिटर गहिराइ भन्दा बढी करिब १.५० मिटर गहिराइसम्म उत्खनन गरिएको पाइयो । नदी क्षेत्रमा प्रवेश अनुमति नरहेको, ढुवानी पुर्जी तथा अभिलेख प्रणाली व्यवस्थित नरहेको तथा अनुगमन टोली स्थलमा पुग्दा सम्बन्धित पक्षहरु त्यहाँबाट भागेको अवस्था समेत देखिएको यावत विषयबाट अवैद्य उत्खनन भएको प्रमाणित हुँदाहुँदै प्रहरी निरीक्षक लामाले टिप्पर र एक्साभेटर गाडी पुनः ठेकेदारको जिम्मा लगाउनु मिलोमत्तो नै हो ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालयका गौशालाका प्रमुख प्रहरी निरिक्षक रमेश लामाले आफुले जिल्ला प्रहरी कार्यालयका प्रमुख र गौशाला नगरपालिकाका समन्वयनमा उत्खनन् उपकरण छोडेको जानकारी दिए । उनले भने, ‘खोलाबाट उत्खनन् सामाग्री ल्याउन ड्राईभर थिएन् । जिल्ला प्रहरी र नगर प्रमुखको समन्वयन पछि हामीले गाडीहरु छोडेका हौं ।’
यता गौशाला नगरपालिका प्रमुख ओमबहादुर अधिकारीले अवैद्य उत्खनन् नभई केही मापदण्ड जस्तै खोला अनुमति पत्र जस्ता केही सामान्य त्रुटी मात्र रहेको जिकिर गरे । उनले भने, ‘असार १ गतेदेखि खोला उत्खनन पूर्णरुपले बन्द हुन्छ, त्यसैले २ दिन मात्र बाँकी छँदा ७ वटा टिप्पर र ३ वटा एक्साभेटरले उत्खनन गरेको भेटियो तर यो व्यवहारिक कुरा हो । ठेकेदारले खोला खन्न बाँकी थियो तर समय नभएका कारण अलि बढी उपकरण खोलामा लगाइनु स्वभाविक हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)