मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेयर कप हक्कीको उपाधि महेन्द्र पार्क र त्रिभुवन चोक क्लबलाई

gorkhapatraonline.com · Sun Jun 21 08:39:18 GMT 2026

नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज, बाँकेको आयोजनामा सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष फाइभ ए साइड हक्की प्रतियोगिताको उपाधि पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लबले जितेका छन् ।

नेपालगन्जमा आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँके गाउँ क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । यसै गरी, महिलातर्फको प्रतिस्पर्धामा त्रिभुवन चोक क्लबले बाँके गाउँ क्लबलाई ३–१ को गोल अन्तरले पाखा लगाउँदै पहिलो स्थान हासिल गर्न सफल भयो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ र तनीसा अन्सारी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यसै गरी, प्रतियोगितामा सर्वाधिक आठ गोल गर्न सफल अनन्या बर्नवाल महिलातर्फ र चार गोल गर्नुभएका रेहान अन्सारी पुरुषतर्फ सर्वाधिक गोलकर्ता घोषित हुनुभयो ।

विजयी तथा उपविजेता टोली र खेलाडीहरूलाई पूर्व खेलाडी समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ लगायतका अतिथिहरूले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी वितरण गर्नुभयो।

नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको प्रथम मेयर कप महिला तथा पुरुष फाइभ ए साइड हक्की प्रतियोगिता–२०८३ गत बिहीबारदेखि सुरु भएको थियो । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी कुल आठ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)