मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्विट्जरल्यान्डमा अमेरिका–इरान शान्तिवार्ता सुरु हुँदै, हर्मुज जलडमरूमध्य र लेबनानको तनावले चुनौती थप्यो

nepalviews.com · Sun Jun 21 08:50:43 GMT 2026

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानका प्रमुख वार्ताकार मोहम्मद बाकर कालिबाफको नेतृत्वमा अमेरिका–इरानबीचको शान्तिवार्ता आइतबार बिहान (स्वीस समय) स्विट्जरल्यान्डको एक पर्वतीय रिसोर्टमा सुरु हुने भएको छ । करिब चार महिनादेखि जारी युद्धको दिगो अन्त्य खोज्ने उद्देश्यले दुवै पक्ष वार्तामा जुट्न लागेका हुन् । तर इरानले रणनीतिक महत्त्वको हर्मुज जलडमरूमध्य बन्द गरेको दाबी गरेपछि वार्ता थप जटिल बन्न सक्ने देखिएको छ ।

अमेरिका र इरानले वार्ताका लागि ६० दिने युद्धविराममा सहमति गरेका छन् । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले शनिबार लेबनानमा इजरायली आक्रमणको प्रत्युत्तरस्वरूप हर्मुज जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको थियो । यद्यपि अमेरिकी सेनाले व्यापारिक जहाजहरूको आवतजावत भने निरन्तर जारी रहेको जनाएको छ ।

यी घटनाक्रमले पाकिस्तानको मध्यस्थतामा भएको अन्तरिम शान्ति सम्झौताको कार्यान्वयनलाई प्रभावित पार्न सक्ने विश्लेषण गरिएको छ । उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियनले बुधबार हस्ताक्षर गरेका थिए ।

उपराष्ट्रपति भान्स आइतबार बिहान स्विट्जरल्यान्डको बुर्गेनस्टक रिसोर्ट पुगेका छन् । उनीसँग उनकी पत्नी उषा भान्स पनि सहभागी छिन् । स्विट्जरल्यान्डको विदेश मन्त्रालयका अनुसार वार्ता आइतबार बिहानै सुरु हुने कार्यक्रम रहेको छ ।

परमाणु कार्यक्रम र लेबनान मुख्य एजेन्डा

अमेरिका प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै भान्सले इरानको परमाणु कार्यक्रम र लेबनानमा युद्धविरामको विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् । उनका अनुसार वार्ता केही दिनसम्म चल्न सक्नेछ ।

यता आईआरजीसीले लेबनानमा इजरायलले गरेको आक्रमणलाई अमेरिका–इरान युद्धविरामको उल्लंघन भन्दै हर्मुज जलडमरूमध्य नजिक आउने जहाजहरू जोखिममा पर्ने चेतावनी दिएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही समुद्री मार्ग हुँदै हुने भएकाले यसको सुरक्षा अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।

यद्यपि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले शनिबार मात्रै ५५ वटा व्यापारिक जहाज हर्मुज हुँदै सुरक्षित रूपमा आवतजावत गरेको र ती जहाजले विश्व बजारका लागि १ करोड ७० लाख ब्यारेलभन्दा बढी तेल बोकेको जनाएको छ । सेन्टकमले व्यापारिक जहाजहरूको आवतजावत सुरक्षित राख्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ ।

राष्ट्रपति ट्रम्पले भने ६० दिने युद्धविराम अवधिमा तथा त्यसपछि पनि हर्मुज जलडमरूमध्य पार गर्न कुनै शुल्क नलाग्ने बताएका छन् । तर यदि शान्तिवार्ता असफल भएमा अमेरिका आफैंले सुरक्षा सेवा उपलब्ध गराएको भन्दै शुल्क लगाउने सम्भावना रहेको संकेत उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

इरानको आरोप : अमेरिका प्रतिबद्धता पूरा गर्न असफल

इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईका सल्लाहकार मोहम्मद मोखबरले अमेरिका सम्झौताका प्रारम्भिक १४ बुँदामध्ये पहिलो बुँदासमेत कार्यान्वयन गर्न असफल भएको आरोप लगाएका छन् । उनका अनुसार लेबनानसहित सबै मोर्चामा युद्धविराम पूर्ण रूपमा लागू नभएसम्म मध्यपूर्वबाट ऊर्जा आपूर्ति सामान्य अवस्थामा फर्किने छैन ।

यद्यपि इरानी तेलमन्त्री मोहेसेन पाकनेजादले पश्चिमी मुलुकहरूले सम्झौताको भावना अनुसार व्यवहार गरेमा इरान विदेशी लगानीका सयौं अवसर र नयाँ सम्झौताका ढाँचा अघि बढाउन तयार रहेको बताएका छन् ।

वार्तामा उच्चस्तरीय प्रतिनिधिमण्डल

इरानको प्रतिनिधिमण्डलमा विदेशमन्त्री अब्बास अराघचीसहित सुरक्षा, केन्द्रीय बैंक र तेल मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन् । अमेरिकी टोलीमा भान्ससँगै विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि छन् ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले विगतमा सम्झौता कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्दै यसपटक सबै प्रतिबद्धता व्यवहारमै लागू गराउन इरानले जोड दिने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनाप्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर पनि वार्तामा सहभागी हुन स्विट्जरल्यान्ड पुगेका छन् ।

लेबनानमा युद्धविरामपछि पनि तनाव कायम

भान्सले अमेरिका छोड्नुअघि दिएको अन्तर्वार्तामा युद्धविराम कायम रहने विश्वास व्यक्त गर्दै हर्मुज जलडमरूमध्य वास्तवमै बन्द भएको कुनै प्रमाण आफूले नदेखेको बताएका थिए ।

अमेरिका–इरान वार्ता सुरु हुनुअघि लेबनानमा युद्धविराम लागू हुनु प्रमुख सर्तमध्ये एक थियो । तर युद्धविराम लागू भएको केही घण्टामै इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको लेबनानी नागरिक सुरक्षा निकायले जनाएको छ ।

इजरायलले हिजबुल्लाहको आक्रमणको जवाफस्वरूप कारबाही गरेको दाबी गरेको छ भने हिजबुल्लाहले लेबनानमा इजरायललाई स्वतन्त्र रूपमा सैन्य गतिविधि गर्न नदिने चेतावनी दिएको छ ।

इजरायलले आफू अमेरिका–इरान सम्झौताको पक्ष नभएको स्पष्ट गर्दै लेबनानमा कब्जा गरिएका क्षेत्रमा आफ्ना सेना यथावत् रहने जनाएको छ । इजरायली सेना युद्धविरामप्रति प्रतिबद्ध रहेको तर कुनै पनि सुरक्षा खतराको जवाफ दिने बताएको छ ।

इजरायलभित्रै सरकारको रणनीतिप्रति असन्तुष्टि

इजरायलको हिब्रु विश्वविद्यालयले गरेको एक सर्वेक्षणअनुसार ९२ प्रतिशत इजरायली नागरिकले संयुक्त अमेरिका–इजरायल सैन्य अभियानबाट इजरायलभन्दा इरानले बढी लाभ लिएको विश्वास गरेका छन् । केवल ८ प्रतिशतले मात्र इजरायल विजयी भएको बताएका छन् ।

सर्वेक्षणमा झण्डै ९० प्रतिशत सहभागीले युद्धका घोषित उद्देश्य पूरा नभएको बताएका छन् भने ३० प्रतिशतभन्दा कमले मात्रै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गरेका उपलब्धिलाई विश्वास गरेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणमा ४,०५७ जनाको मृत्यु भएको छ । मृतकमध्ये स्वास्थ्यकर्मी, महिला र बालबालिका पनि छन् । उता इजरायलका अनुसार हिजबुल्लाहसँगको झडपमा कम्तीमा ३२ सैनिक र ४ सर्वसाधारण मारिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय