मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
ratopati.com · Sun Jun 21 09:09:42 GMT 2026

सर्लाही । सर्लाहीमा भैंसी गोठमा सुतिरहेका एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
बसबरिया गाउँपालिका–१ मानपुरका ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार यादव भैंसी गोठमा सुतिरहेको अवस्थामा राति करिब १२ बजे अपरिचित समूहले घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो । घटनापछि परिवारका सदस्यले गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
मृतकका जेठा छोरा सुवासकुमारले आफ्ना बुवा अत्यन्तै सरल र नरम स्वभावका व्यक्ति रहेको तथा कसैसँग कुनै किसिमको विवाद नरहेको बताए । उनले हत्याको कारण र संलग्न व्यक्तिबारे अनुमान गर्न समेत कठिन भइरहेको बताए ।
प्रहरीले हत्यामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी