राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन : प्रदीप ज्ञवाली
makalukhabar.com · Sat Feb 01 14:59:54 GMT 2025

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा शनिवार आयोजित ‘काव्यगोष्ठी’मा उनले निरङ्कुुश राजतन्त्र भएका बखत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको स्मरण गर्दै अब त्यस्तो अवस्था आउने कुनै सम्भावना नरहेको बताए ।
अभिव्यक्ति स्वतन्त्रताको सवालमा नेपालले दक्षिण एसियामै अग्रगामी संवैधानिक व्यवस्था गरेको भन्दै यसलाई समृद्धि र रूपान्तरणका लागि उपयोग गर्न सक्नुुपर्नेमा जोड दिए ।
सहित्यकारसमेत रहनुभएका पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले वर्तमानका कवितामा सामाजिक मूल्य र न्यायको खोजी, लैङ्गिक समताजस्ता विषय अधिक आउने गरेको र स्रष्टाहरूले कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने आशा सम्प्रेषण गर्न सक्नुुपर्ने धारणा राखे । उनले द्वन्द्वपीडितको आवाज प्रस्तुत गरिएको ‘विनाअनुहारको रात’ शीर्षकको कवितावाचन गरेका थिए ।
कार्यक्रममा साहित्यिक र राजनीतिक क्षेत्रबाट ज्ञवालीले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । यसैगरी, साहित्य सन्ध्याका अध्यक्ष रामविनयलाई समेत सम्मान गरिएको थियो । प्रतिष्ठानको हरेक महिनाको तेस्रो शनिबार हुने यस काव्यगोष्ठीमा यस पटक कवि विनयका आधा दर्जन कविताको एकल प्रस्तुति गरिएको थियो ।