प्रहरीको गोलीले ढलेका पटके कारोबारी ओझैया : आफू सुर्ती–चुरोट पनि नखाने, अरूलाई लागुऔषध !
lokaantar.com

पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का किशोरप्रसाद ओझैयाले लामो समयदेखि लागुऔषध खैरो हेरोइनको कारोबार गर्थे । तर, उनी आफू चुरोट र सुर्ती समेत सेवन गर्दैनन् ।
ओझैयाले भारतबाट सस्तोमा खैरो हेरोइन काठमाडौं मगाउने र महँगोमा यहाँका लागुऔषध दूर्व्यसनीहरूलाई बिक्री गर्ने गर्थे ।
हिजो शनिबार (२०८३, असार ६ गते) गते पनि ओझैया भारतदेखि आफूले मगाएको तीन सय ग्राम खैरो हेरोइन लिन ललितपुरस्थित बालकुमारी पूलमुनि पुगे । त्यतिबेलासम्म पनि उनी प्रहरीको ‘राडार’ मा थिएनन् । लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले भारतीय नागरिक सन्तोष भन्ने मुख्य कारोबारीलाई खोज्दै थियो ।
ब्यूरो स्रोतका अनुसार सन्तोष भन्ने व्यक्ति भारतीय सेनामा जागिर खाएर बर्खास्तीमा परेका सैनिक कर्मचारी हुन् । उनै सन्तोषसँग मिलेर ओझैयाले काठमाडौंमा खैरो हेरोइन ल्याउँथे ।
शनिबार पनि ओझैयाले तीन सय ग्राम खैरो हेरोइन मगाएका थिए । कैलाली टिकापुरका अशोक भूल र सप्तरी राजगढका निरजकुमार मण्डल पनि बालकुमारी पुगेका थिए । भूल र मण्डललाई ‘रिसिभ’ गर्न ओझैया पुगे ।
बालकुमारी पूलमुनि खैरो हेरोइनको कारोबार हुँदैछ भनेर एनसीबीले सूचना पायो । अनि प्रहरी टोली पठायो । प्रहरी टोलीले घेरा हालेर पक्राउ गर्न खोज्यो । उनीहरू टसमस भएनन् । अनि दुई राउन्ड हवाइफायर गर्यो । प्रहरी टोलीमाथि नै ढुंगामुडा गरेर भाग्न खोजेपछि तेस्रो राउन्ड गोली ओझैयामाथि सोझ्यायो । ओझैया भुइँमा ढले । तर, एनसीबीले खोजेका मुख्य कारोबारी सन्तोष त्यहाँ थिएनन् । प्रहरीले अर्को सूचना थाहा पायो । सन्तोष सिरहाको मिर्चैयामा थिए । उनी काठमाडौं आउँदै थिए । बालकुमारीमा ओझैयामाथि गोली प्रहार भएको सूचना बाहिरिएपछि सन्तोष उतैबाट सीमा पार भएको एनसीबी स्रोत बताउँछ ।
मण्डल, भूल र ओझैयाबारे प्रहरीले केराकार गरयो । ओझैयाको विगत भने लागुऔषध कारोबारमै सक्रिय रहेको पाइयो ।
ओझैया लागुऔषध मुद्दामा तीन वर्ष कैद र एक लाख जरिवाना तिरेर गत वर्ष पुस १७ गते मात्रै नख्खु कारागारबाट छुटेको तथ्य फेलापर्यो । उनी जेलबाट छुटेर पनि पुन: लागुऔषध कारोबारमै सक्रिय रहेको यो घटनाले पनि पुष्टि गर्यो ।
एनसीबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीका अनुसार ओझैयाको दाहिने खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एनसीबीका एक अनुसन्धान अधिकारीका अनुसार लागुऔषध कारोबारी जेलबाट छुटेपछि उसलाई निगरानी गर्न छुट्टै टोली परिचालित हुन्छन् । एनसीबीकै टोलीले गोप्य निगरानी गर्दा ओझैया र भारतीय नागरिक सन्तोषबीचको कारोबार सम्बन्ध पत्ता लागेको हो ।
एनसीबीका अनुसार ओझैयाले भारतबाट प्रतिग्राम तीन हजारसम्म तिरेर खैरो हेरोइन काठमाडौं ल्याउँथे । काठमाडौं उपत्यकामा उनले दुर्व्यसनीलाई प्रतिग्राम ७ देखि ८ हजार रुपैयाँसम्ममा बिक्री गर्थे । रोचक कुरा त काठमाडौं उपत्यकामा सन्तोष र ओझैयाले फरक–फरक ग्राहक बनाएर बिक्री गर्दै आएका थिए । ओझैयाले शनिबार बालकुमारी पूलमुनि रिसिभ गर्न लागेको तीन सय ग्राम खैरो हेरोइनको सूचना पनि सन्तोषकै ग्रुपबाट ‘लीक’ भएको स्रोत बताउँछ ।
एनसीबीले सन्तोषलाई यसअघि एकपटक पक्राउ गरेको थियो । ४० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका उनलाई भारतीय पक्षले नै कारबाही गर्ने भनेर नेपाल प्रहरीको समन्वयमा लग्यो । तर, सन्तोष अहिले पनि खैरो हेरोइनको कारोबारमा सक्रिय रहेको सूचना एनसीबीसँग छ । ‘हामीले खास पक्राउ गर्न खोजेका व्यक्ति सन्तोष पनि हुन्, तर यता ओझैया पक्राउ परेको थाहापाएपछि उनी भागे,’ एनसीबीका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘सन्तोष मिर्चैया रहेको खबर ढिलो आयो, नत्र पक्राउ गर्थ्यौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ
नेपाल प्रहरी