मेलोनीले बिन्ती गरेपछि दया गरेर फोटो खिचेको ट्रम्पको दावीपछि इटालीसँग कुटनीतिक तनाव
barnanmedia.com · Sun Jun 21 09:45:45 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबारे दिएको विवादास्पद अभिव्यक्तिपछि अमेरिका र इटालीबीच नयाँ कूटनीतिक तनाव उत्पन्न भएको छ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले अमेरिकाको तय भएको भ्रमण रद्द गरेका छन्। सीएनएनका अनुसार, ताजानीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिका भ्रमण ट्रम्पको टिप्पणीको विरोधस्वरूप रद्द गरेका हुन्।
उनले ट्रम्पको अभिव्यक्तिलाई ‘अपमानजनक’ भनेका छन् भने प्रधानमन्त्री मेलोनीले ती आरोपलाई ‘पूर्ण रूपमा मनगढन्ते’ बताएकी छन्।
यसले एक समय घनिष्ठ मानिएका ट्रम्प र मेलोनीबीचको सम्बन्धमा थप दरार ल्याएको छ। फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि अमेरिका र उसका युरोपेली साझेदारबीच सम्बन्ध सुधार हुने संकेत देखिए पनि पछिल्लो घटनाले फेरि तनाव बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।इटालीको टेलिभिजन च्यानल ला–७ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले जी–७ सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिच्न ‘बिन्ती’ गरेको दाबी गरेका थिए।
ट्रम्पले भनेका थिए–उनले मसँग फोटो खिच्न निकै अनुरोध गरिन्। उनलाई मसँग फोटो चाहिएको थियो। म त फोटो खिच्ने पक्षमा थिइनँ, तर मलाई उनको दया लाग्यो र मैले स्वीकार गरेँ। यो अभिव्यक्ति इटालियन भाषामा अनुवाद गरेर उक्त टेलिभिजनले सार्वजनिक गरेको थियो।
मेलोनीको कडा प्रतिवाद
ट्रम्पको टिप्पणी सार्वजनिक भएपछि प्रधानमन्त्री मेलोनीले शुक्रबार सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश जारी गर्दै तत्काल प्रतिक्रिया दिएकी थिइन्।
उनले भनिन्–डोनाल्ड ट्रम्पका भनाइ पूर्ण रूपमा मनगढन्ते छन्। म साँच्चै स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्नै सहयोगी राष्ट्रहरूप्रति किन यस्तो व्यवहार गर्छन् भन्ने मलाई थाहा छैन। र, यो पहिलो पटक पनि होइन। पश्चिमा विश्वका शत्रुहरू र अमेरिकाका विरोधी नेतृत्वहरूप्रति जति कठोरता देखाउनुपर्ने हो, त्यसमा उहाँले त्यति दृढता देखाउनुहुन्न। बरु उनीहरूप्रति बढी नरम देखिनु दुःखद विषय हो।
पछिल्लो घटनाले ट्रम्प प्रशासन र युरोपेली सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा फेरि नयाँ असहजता थपिएको विश्लेषण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ