हामी सरकार फेर्न होइन, राजनीतिक संस्कार बदल्न आएका हौं: स्वर्णिम वाग्ले
kathmandupati.com · Sun Jun 21 10:32:33 GMT 2026
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूहरु सरकार फेर्न नभई राजनीतिक संस्कार बदल्न आएको बताएका छन् ।
चितवनमा सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रलाई आइतबार सम्बोधन गर्दै वाग्लेले रास्वपा केवल सरकार परिवर्तनको अभियान नभई नेपालको राजनीतिक संस्कार परिवर्तनको अभियान भएको बताएका छन् ।
वाग्लेले रास्वपाको जन्म नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र सकारात्मक परिवर्तनको आकांक्षाको राजनीतिक अभिव्यक्तिका रूपमा भएको दाबी गरे ।
उनले लोकतन्त्र, संविधान र समावेशिताजस्ता विगतका उपलब्धिको सम्मान गर्दै लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गरे ।
‘निर्वाचन धेरै भए, तर उत्तरदायित्व कमजोर रह्यो । संविधान बन्यो, तर संस्थाहरू बलिया भएनन्। राज्यको आकार विस्तार भयो, तर क्षमता बढेन’, उनले भने ।
वाग्लेले नेपालको समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना रहेको उल्लेख गरे ।
राजनीतिमा इमानदार मानिसलाई प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सजिलो हुने अवस्था बनेको उनको भनाइ थियो । व्यवसायमा नवप्रवर्तनभन्दा शक्ति केन्द्रसँग निकट हुन सहज हुने प्रवृत्तिले देशको विकास अवरुद्ध गरेको उनले बताए ।
उनले रास्वपाको उद्देश्य भागबण्डाको राजनीतिबाट मेरिटोक्रेसी, संरक्षणवादबाट प्रतिस्पर्धा तथा नागरिक केन्द्रित लोकतन्त्रतर्फ मुलुकलाई अघि बढाउनु रहेको बताए । ‘हामी आमूल सुधारको राजनीतिमार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौं’, उनले भने ।
वाग्लेले रास्वपा अब आन्दोलनमुखी दलबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरणको चरणमा प्रवेश गरेको दाबी गरे । नयाँ पुस्ताले केवल प्रश्न सोध्न वा विरोध गर्न मात्र नभई शासन सञ्चालन गरेर परिणाम दिन सक्ने प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।
आफ्नो सम्बोधनमा उनले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको अवधारणालाई रास्वपाको राजनीतिक दृष्टिकोणका रूपमा प्रस्तुत गरे । पहुँचभन्दा क्षमता, आसेपासे पुँजीवाद वा विकृत समाजवादभन्दा उद्यमशीलता र परिश्रमलाई समृद्धिको आधार बनाउनुपर्नेमा उनले जोड दिए ।
युवाले अवसर खोज्दै विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले श्रम, सीप, ज्ञान र सिर्जनशीलताले नेपालमै सम्मान र अवसर पाउने वातावरण निर्माण गर्नुपर्ने बताए । किसान, श्रमिक र उद्यमी सबैले समान अवसर र सम्मान पाउने नेपाल निर्माण रास्वपाको लक्ष्य रहेको उनको भनाइ थियो ।
महाधिवेशनलाई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भका रूपमा चित्रित गर्दै वाग्लेले निराशालाई आशा, आक्रोशलाई निर्माण र विद्रोहलाई रूपान्तरणमा बदल्ने अभियानमा सहभागी हुन आह्वान गरे ।
‘यो गैरजिम्मेवारीबाट जवाफदेहीता, संरक्षणवादबाट प्रतिस्पर्धा र बरालिएको राजनीतिबाट खुला, सक्षम तथा परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हो’, वाग्लेले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)